सिद्धार्थ पोलिटेक्निकल कलेजमा “चिया संवाद तथा प्यानल छलफल” भव्य सम्पन्न
विद्यार्थीको रोजाइमा परेको उत्कृष्ट व्यवस्थापनसहितको कलेजमा ज्ञान र सिपमूलक बहस
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सञ्चालित सिद्धार्थ पोलिटेक्निकल कलेजमा “चिया संवाद तथा प्यानल छलफल” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कलेजका सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत छात्र–छात्राहरूको सक्रिय पहलमा आयोजना गरिएको उक्त कार्यक्रमले बुटवल क्षेत्रमा नयाँ किसिमको शैक्षिक बहस र संवादको वातावरण सिर्जना गरेको छ।
कार्यक्रमले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, सामाजिक चेतना तथा समसामयिक विषयमा सोच्न प्रेरित गर्ने उद्देश्य राखेको थियो। कलेजको उत्कृष्ट व्यवस्थापन, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीमैत्री नीति अनुरूप यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हुँदै आएको बताइएको छ, जसले गर्दा यो कलेज पछिल्लो समय विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै गएको छ।
कार्यक्रममा अतिथिका रूपमा अन्जु क्षेत्री तथा राम चन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो भने प्यानल सदस्यका रूपमा कलेजका प्राचार्य अन्जना पन्थी, शंकर मुराव, डा। शंज्ञा सेन तथा विद्यार्थी प्रतिनिधि जिया लामिछाने सहभागी हुनुभएको थियो। कार्यक्रम कलेजका अध्यक्ष अर्विन चन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कलेजका प्रशिक्षक शिव शर्माले गर्नुभएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल छलफलमा सामाजिक सञ्जालको प्रयोग, सिप र उपाधि बीचको सम्बन्ध, मस्तिष्क पलायन तथा मस्तिष्क लाभ जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो। प्यानल सदस्यहरूले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्दै वर्तमान पुस्ताले सही दिशा पहिचान गर्नुपर्नेमा जोड दिएका थिए।
प्राचार्य अन्जना पन्थीले शिक्षाले मात्र होइन, सिपले पनि व्यक्तिको भविष्य निर्धारण गर्ने बताउँदै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक दक्षता अनिवार्य रहेको धारणा राख्नुभयो। त्यसैगरी, डा. शंज्ञा सेनले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादनका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शंकर मुरावले युवाहरू विदेशतर्फ आकर्षित भइरहेका सन्दर्भमा देशमै अवसर सिर्जना गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
विद्यार्थी प्रतिनिधि जिया लामिछानेले वर्तमान पुस्तामा सामाजिक सञ्जालको प्रभाव अत्यधिक रहेको उल्लेख गर्दै यसको सकारात्मक प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामीले सामाजिक सञ्जाललाई समय बिताउने माध्यम होइन, सिक्ने र आफूलाई विकास गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्छ।”
कार्यक्रमका अतिथि अन्जु क्षेत्री र राम चन्द्र श्रेष्ठले विद्यार्थीहरूलाई उत्प्रेरणामुलक मन्तब्य प्रदान गर्दै जीवनमा तनाव ब्यवस्थापनका साथै सफल हुन सिप, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताए। उनीहरूले सामाजिक सञ्जालको सही प्रयोग, पढाइसँगै सिप विकास तथा देशमै सम्भावना खोज्नुपर्ने विषयमा जोड दिएका थिए।
कार्यक्रममा पत्रकार, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाएको थियो। उपस्थित सबैले कलेजको व्यवस्थापन, शैक्षिक स्तर तथा विद्यार्थीको सक्रियतालाई उच्च प्रशंसा गरेका थिए।

कार्यक्रमका अध्यक्ष अर्विन चन्द्र आचार्यले कलेजको समग्र अवस्थाबारे प्रकाश पार्दै सिद्धार्थ पोलिटेक्निकल कलेजलाई उत्कृष्ट बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी विद्यार्थीलाई केवल उपाधि दिने मात्र होइन, सक्षम, दक्ष र आत्मनिर्भर नागरिक बनाउने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”
उहाँले कलेजमा सामान्य चिकित्सा, ल्याब टेक्निसियन, फार्मेसी, रेडियोग्राफि, केयरगिभर लगायतका कार्यक्रमहरु संचालनमा रहेको जानकारी दिनुभयो साथै निकट भविष्यमा तिन वर्षे ब्युटी एण्ड कस्मोलोजी (सौन्दर्य विज्ञान) सम्बन्धी विषयको समेत अध्यापन हुने जानकारी गराउँदै कलेजलाई अझ आधुनिक र बहुआयामिक बनाउने योजनामा रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष आचार्यले कलेजको व्यवस्थापन अत्यन्त व्यवस्थित, पारदर्शी र विद्यार्थीमैत्री रहेको बताउँदै यही कारणले गर्दा कलेज छोटो समयमा नै धेरै विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको दाबी गर्नुभयो। उहाँले थप्नुभयो, “विद्यार्थीको उज्ज्वल भविष्य निर्माण नै हाम्रो मुख्य उद्देश्य हो, र यसका लागि आवश्यक सम्पूर्ण शैक्षिक तथा प्राविधिक वातावरण हामीले उपलब्ध गराएका छौं।”
उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा समसामयिक विषयप्रति बुझाइ बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक र ज्ञानमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो विचार खुला रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै सामाजिक, शैक्षिक तथा पेशागत विषयमा गहिरो सोच विकसित गर्न मद्दत पुगेको सहभागीहरूले बताएका छन्। समग्रमा, सिद्धार्थ पोलिटेक्निकल कलेजले आयोजना गरेको “चिया संवाद तथा प्यानल छलफल” कार्यक्रमले कलेजको शैक्षिक गुणस्तर, व्यवस्थापन क्षमता र विद्यार्थीप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ।
यस कार्यक्रमले कलेजलाई अझ विश्वासिलो, गुणस्तरीय र विद्यार्थीको पहिलो रोजाइको शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण कदम सावित भएको छ।





