बुटवलमा विषादीयुक्त हरियो बोडी नष्ट : ९७% भन्दा बढी विषादी भेटियो
बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको हरियो बोडीमा अत्यधिक विषादी प्रयोग गरिएको भेटिएपछि सम्बन्धित निकायले नष्ट गरेको छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलले आज बिहान बजारमा आएका तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्दा चितवनबाट ल्याइएको बोडीमा उच्च मात्रामा विषादी अवशेष फेला परेको हो।
प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिका सँग समन्वय गर्दै करिब १२० केजी विषादीयुक्त बोडी डम्पिङ साइटमा लगेर नष्ट गरिएको छ। बजारमा दैनिक रूपमा आउने तरकारी तथा फलफूलको नमुना संकलन गरी परीक्षण गर्ने कार्य नियमित रूपमा हुँदै आएको जनाइएको छ।
प्रयोगशालाका नायब प्राविधिक सहायक राजिब भण्डारी का अनुसार परीक्षणका क्रममा उक्त बोडीमा अर्गानोफस्फोरेट समूहको विषादी ९७.०६७ प्रतिशत ‘इनहिबिसन’ देखिएको थियो, जुन अत्यन्त जोखिमपूर्ण स्तर हो।
प्राविधिकहरूका अनुसार ० देखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही समय ‘क्वारेन्टाइन’मा राखेर पुनः परीक्षण गरिन्छ। तर ४५ प्रतिशतभन्दा माथि पुगेका तरकारी अनिवार्य रूपमा नष्ट गरिने प्रावधान रहेको छ।
विशेष गरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी प्रयोग हुने र किसानले ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिने गरेको प्राविधिकहरूको भनाइ छ।
उपभोक्ताहरूलाई तरकारी राम्रोसँग धोएर, सकेसम्म केही समय पानीमा भिजाएर मात्र प्रयोग गर्न सुझाव दिइएको छ।
बुटवलमा विषादीयुक्त हरियो बोडी नष्ट : ९७% भन्दा बढी विषादी भेटियो
प्रतिक्रिया



