रुपन्देहीको ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १७ औ गाउसभाको बैठकमा पालिकाको उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २५ लाख १४ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गरेकी हुन ।
पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ११ करोड ६६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ५ लाख, समपुरक अनुदान तर्फ ४० लाख अनुदान प्राप्तिको अनुमान गरेको छ ।

यसै गरी प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानिकरण अनुमान तर्फ ८० लाख ७३ हजार, सशर्त अनुदान तर्फ १ करोड ५५ लाख, समपुरक अनुदान तर्फ ७५ लाख अनुदान प्राप्तिको अनुमान गरेको पालिकाले बाँडफाँडबाट प्राप्त राजश्व अन्तर्गत सङ्घीय सरकारबाट ९ करोड ४२ लाख ६४ हजार, प्रदेश सरकारबाट ८७ लाख ७७ हजार र स्थानीय राजश्व बाँडफाँडबाट २ करोड ५० लाख रुपैयाँको प्राप्तिको अनुमान गरेको छ ।
गाउँपालिकाको आन्तरिक श्रोत तर्फ ३ करोड ७३ लाख गरी कुल जम्मा ४९ करोड २५ लाख १४ हजार राजश्व तथा अनुदान प्राप्तिको अनुमान गरिएको चौधरीले बताइन ।
यस्तै खर्चतर्फ गाउँपालिकाको चालु खर्च तर्फ ३२ करोड १८ लाख ४१ हजार र पुँजीगत खर्च तर्फ १७ करोड ६ लाख ७३ हजार रुपैयाँ गरी ४९ करोड २५ लाख १४ हजार खर्चको प्रक्षेपण गरेको उनले बताइन ।
आइतबार नै पालिकाले नीति तथा कार्यक्रम पनि ल्याएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै समृद्ध ओमसतिया भन्ने मुल मन्त्रका साथ “ओमसतियाको शान सुन्दर शान्त समृद्ध गाउँपालिका हाम्रो अभियान” भन्ने मूल नारा लिई नीति तथा कार्यक्रम तयार पारिएको बताए ।
पालिकाले खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा बनको संरक्षण गरी जल, जमिन तथा वातावरणको संरक्षण गरिने नीति लिएको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद् पूर्व तयारी, विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने यादवले बताए ।
कर प्रणालीमा सुधार गर्दै प्रगतिशील कर प्रणालीको सिद्धान्तमा रही आर्थिक वर्ष २०८२/०८३ लाई कर सहभागिता वर्षको रूपमा मनाइने बताउँदै यादवले । राजश्व प्रशासनलाई चुस्त बनाउँदै विद्युतीय माध्यमबाट कर तिर्ने प्रणालीको विकास गरी राजश्व सङ्कलनलाई क्रमशः फेसलेस र क्यासलेस बनाउँदै लगिने जनाए ।
“सेवाको बरिपरी जनता होइन जनताको वरिपरि सेवा” भन्ने अवधारणालाई आत्मसाथ गरी मुस्कान सहितको छरितो र एकीकृत घुम्ती सेवा कार्यक्रम सञ्चालन गरिने नीति लिएको यादवले बताए । गाउँपालिकाभित्रका नागरिकहरूको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्नेको र सोको सम्बोधन अनलाइन प्रणालीको माध्यमबाट गर्ने नागरिक गुनासो व्यवस्थापन प्रणाली तयार गरी लागु गरिने उनले बताए ।
गाउँपालिकामा कायम भएको असुल उपर बेरुजु असुल गरी बेरुजु कम गरी नीतिगत बेरुजु हटाउन आवश्यक संयन्त्र निर्माण गरी महालेखा परीक्षक समक्ष पेस गरिने पालिकाले नीति लिएको छ। बेरुजु आउने खालका कार्यक्रमहरू सञ्चालन गर्न रोक लगाइने र वेबसाइटमा प्रकाशित गर्ने कार्यलाई निरन्तरता दिइने उनले बताए ।



