ज्ञानगंगा पाठशालामा निःशुल्क आँखा शिविर सम्पन्न
तिलोत्तमा–४, रुपन्देही,
असार १५ — धान दिवसको अवसरमा ज्ञानगंगा पाठशालाको आयोजनामा र श्रीकृष्ण नेत्रालय प्रा.लि.को प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा कक्षा ३ देखि १० सम्म अध्ययनरत करिब ७०० जना विद्यार्थीहरूको आँखाको परीक्षण गरिएको थियो। परीक्षणको क्रममा ३० जना विद्यार्थीमा दृष्टि सम्बन्धी समस्या देखिएको र तिनको थप उपचार तथा निगरानीको लागि अभिभावकलाई जानकारी गराइएको विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रमले विद्यार्थीहरूमा समयमै दृष्टि समस्याको पहिचान गर्न सहयोग गरेको र यसले उनीहरूको समग्र शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको प्रधानाध्यापक चन्द्र अधिकारीले बताउनुभयो।
त्यस्तै, विद्यालय, स्वास्थ्य संस्था तथा अभिभावकबीचको समन्वयद्वारा यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने योजना रहेको अतिरिक्त क्रियाकलाप प्रमुख राजेश रोकाहा ले जानाकारी दिनुभयो।
विद्यालयकी हेल्थ नर्स शान्ता पौडेलको कुशल सहजीकरणमा शिक्षक–शिक्षिकाहरूको सक्रिय र समर्पित भूमिकाले शिविरलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो।



