पाल्पामा जडिबुटी संरक्षण र दिगो वन व्यवस्थापन तालिम सम्पन्न
पाल्पा, तिनाउ — जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाको आयोजना तथा FAO नेपाल र फेकोफन नेपालको साझेदारीमा सञ्चालित Farm and Forest Facility परियोजना अन्तर्गत ३ दिने दिगो वन व्यवस्थापन तथा जडिबुटीजन्य बोटबिरुवाको व्यवस्थित कटाई सम्बन्धी तालिम सम्पन्न भएको छ।
तिनाउ गाउँपालिकामा आयोजित उक्त तालिममा सहकारीका सदस्यहरू तथा सामुदायिक वनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। करिब ४२ जना सहभागी रहेको तालिममा तिनाउ क्षेत्रका १५ वटा सामुदायिक वनका प्रतिनिधिहरू समावेश भएका थिए। तालिम सैद्धान्तिक ज्ञानसँगै फिल्ड भिजिट र व्यवहारिक अभ्यासमा केन्द्रित रहेको थियो, जसले सहभागीहरूलाई प्रत्यक्ष अनुभवसमेत प्रदान गरेको छ।
तालिमको सहजीकरण जडिबुटी विज्ञ तथा वातावरणविद् समीर ढुंगेल र परियोजना संयोजक अनन्त सिलवालले गर्नुभएको थियो। उहाँहरूले जडिबुटीको संरक्षण, वैज्ञानिक व्यवस्थापन र आर्थिक उपयोगका विविध पक्षहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा विशेषगरी जंगलमा पाइने तेजपात, तितेपाती, कडिपत्ता लगायतका जडिबुटीहरूको वैज्ञानिक तरिकाले कटाई गर्ने विधिबारे विस्तृत छलफल गरिएको थियो। परम्परागत रूपमा वर्षमा एकपटक मात्र गरिने कटाईलाई वैज्ञानिक विधि अपनाई वर्षमा २ देखि ३ पटकसम्म सुरक्षित रूपमा गर्न सकिने विषयमा जानकारी दिइएको थियो। यसले उत्पादन वृद्धि गर्नुका साथै वनको दीगो संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
तालिमका क्रममा सहभागीहरूले जडिबुटी उद्योगसँग सम्बन्धित अभ्यास तथा नजिकै रहेको तिलोत्तमा सामुदायिक वनमा प्रायोगिक सिकाइ समेत गरेका थिए। व्यवहारिक अभ्यासले जडिबुटी संकलन, व्यवस्थापन तथा उपयोगमा थप आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ रहेको छ।
यस परियोजनाबाट आफूहरू निकै उत्साहित भएको सहभागी नैना पुरीले बताउनुभयो। उहाँका अनुसार यस्ता तालिमहरूले स्थानीय स्तरमा जडिबुटीको सही उपयोग र आयआर्जनका सम्भावनाहरू बढाउनेछ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द पाण्डे, वडा अध्यक्ष चित्रबहादुर आले लगायतका व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमले आगामी एक महिनाभित्र १५ वटा सामुदायिक वन र सहकारीबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी संयुक्त कार्ययोजना तयार गर्ने निर्णय समेत गरेको छ।
तालिमकै अवसरमा तेजपात र तितेपाती संकलन गर्ने सही विधि, साथै पुदिना, तुलसी लगायतका जडिबुटीहरूको रोपण सम्बन्धी व्यवहारिक अभ्यास समेत गरिएको थियो। यसले सहभागीहरूलाई उत्पादन र संरक्षण दुवै पक्षमा दक्ष बनाउने अपेक्षा गरिएको छ।
समग्रमा, उक्त तालिमले स्थानीय समुदायलाई जडिबुटीको संरक्षण, दिगो उपयोग र आयआर्जनसँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूको विश्वास रहेको छ।
पाल्पामा जडिबुटी संरक्षण र दिगो वन व्यवस्थापन तालिम सम्पन्न
प्रतिक्रिया



