सैनामैना नगरपालिका जिल्लामै प्रथम : कार्यसम्पादन मुल्यांकनको नतिजामा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा सार्वजनिक गरिएको स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सैनामैना नगरपालिका जिल्लामै पहिलो स्थान हासिल गर्न सफल भएको छ।
जिल्लाका १६ स्थानीय सरकारबीच गरिएको प्रतिस्पर्धात्मक मूल्यांकनमा सैनामैना नगरपालिका ७३.१ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो। यस उपलब्धिले नगरपालिकाको समग्र प्रशासनिक क्षमता, योजना कार्यान्वयन र सेवा प्रवाहमा उल्लेखनीय सुधार भएको संकेत गरेको छ।
यसअघि माघ २९ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजाप्रति असन्तुष्टि जनाउँदै सैनामैना नगरपालिकाले पुनर्मूल्यांकनका लागि आयोगसमक्ष निवेदन दिएको थियो। सोही आधारमा पुनः मूल्यांकन गरी हाल सार्वजनिक गरिएको संशोधित नतिजामा सैनामैना पहिलो स्थानमा उक्लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिनुभयो।
आयोगले स्थानीय तहहरूको मूल्यांकनका लागि कुल १७ वटा सूचक निर्धारण गरेको थियो। ती सूचकअन्तर्गत समयमै बजेट सार्वजनिक तथा पारित गरिएको अवस्था, राजस्व संकलन र व्यवस्थापन, बजेट खर्चको प्रभावकारिता, बेरुजु फर्छ्यौट, तथा ‘सूत्र’ सफ्टवेयरको प्रयोग जस्ता प्रशासनिक पक्ष समेटिएका छन्।
त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रका सूचकहरू पनि मूल्यांकनको महत्वपूर्ण आधार बनेका छन्। विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई परीक्षाको नतिजा, गर्भवती महिलाको स्वास्थ्य जाँच दर तथा खोप लगाइएका बालबालिकाको अनुपात जस्ता सूचकहरूलाई समेत समावेश गरिएको थियो।
यसबाहेक आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट उठेको राजस्वमध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत रकम समयमै प्रदेश सञ्चित कोषमा दाखिला गरिएको/नगरिएको अवस्थालाई पनि मूल्यांकनमा समेटिएको छ।
साथै आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा पेश गरिएको/नगरिएको तथा बजेट समीक्षा प्रतिवेदन कात्तिक मसान्तभित्र सार्वजनिक गरिएको/नगरिएको अवस्थाले पनि अंक निर्धारणमा प्रभाव पारेको आयोगले जनाएको छ।
समग्रमा, विभिन्न सूचकहरूमा सन्तुलित र प्रभावकारी कार्यसम्पादन प्रस्तुत गर्दै सैनामैना नगरपालिका रुपन्देहीमै उत्कृष्ट बन्न सफल भएको हो। यो उपलब्धिले स्थानीय शासन प्रणालीमा पारदर्शिता, उत्तरदायित्व र विकासप्रतिको प्रतिबद्धता अझ सुदृढ हुँदै गएको सन्देश दिएको छ।



