कञ्चनको गौरवः श्री प्रगती माध्यमिक विद्यालयलाई ISO प्रमाणन, शैक्षिक गुणस्तरमा अन्तर्राष्ट्रिय पहिचान स्थापित
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा सञ्चालित कञ्चनकै एकमात्र नमुना विद्यालय श्री प्रगती माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय मानकीकरण संगठन (ISO) को प्रमाणित पत्र प्राप्त गर्दै शैक्षिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। विद्यालयले ५० भन्दा बढी कडा सूचकहरू सफलतापूर्वक पार गर्दै ISO प्रमाणन प्राप्त गर्न सफल भएको हो। यस उपलब्धिले विद्यालयलाई मात्र होइन, समग्र कञ्चन गाउँपालिका र रुपन्देही जिल्लाकै शैक्षिक प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने काम गरेको छ।
ISO प्रमाणपत्र हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो, जहाँ जनप्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, तथा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय समुदायको उत्साहपूर्ण सहभागिताले विद्यालयप्रतिको विश्वास र अपेक्षालाई स्पष्ट रुपमा झल्काएको थियो।
कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले प्रगती माध्यमिक विद्यालयले छोटो समयमै हासिल गरेको यो सफलता अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयहरूलाई उदाहरणीय बनाउने दिशामा प्रगती माविले देखाएको प्रतिबद्धता र परिश्रम प्रेरणादायी छ। ISO प्रमाणन प्राप्त गर्नु भनेको केवल एउटा उपलब्धि मात्र होइन, यो गुणस्तरीय शिक्षाको दीर्घकालीन प्रतिवद्धताको प्रतीक हो।” उहाँले कञ्चन गाउँपालिकालाई रुपन्देहीकै अग्रणी शैक्षिक केन्द्रका रूपमा विकास गर्न निरन्तर शिक्षक तालिम, विषयगत क्षमता अभिवृद्धि, तथा अतिरिक्त सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले प्रगती माविले कञ्चनको शैक्षिक इतिहासमा नयाँ अध्याय थपेको बताउँदै अब विद्यालयमाथि थप जिम्मेवारी आएको उल्लेख गर्नुभयो। “ISO प्रमाणन प्राप्त गर्नु भनेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तर कायम राख्ने दायित्व पनि सँगै आउँछ। यो उपलब्धिले हामी सबैलाई गौरवान्वित बनाएको छ,” उहाँले भन्नुभयो। साथै, आफू जनप्रतिनिधि हुनुअघि सोही विद्यालयमा शिक्षकको रूपमा कार्यरत रहेको स्मरण गर्दै विद्यालयको प्रगतिप्रति गर्व व्यक्त गर्नुभयो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले पनि मन्तव्य व्यक्त गर्दै कञ्चनका सामुदायिक विद्यालयमध्ये प्रगती मावि र संस्थागत विद्यालयतर्फ मोर्डन भिजन एकेडेमीले ISO प्रमाणन प्राप्त गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “ISO प्राप्त गर्नु जति महत्वपूर्ण छ, त्यसलाई दीगो रूपमा कायम राख्नु अझ चुनौतीपूर्ण हुन्छ। यसले विद्यालयलाई थप जिम्मेवार, अनुशासित र प्रतिबद्ध बनाउँछ।”
अन्तर्राष्ट्रिय मानकीकरण संगठन (ISO) नेपालका प्रतिनिधि सुदीप शर्माले प्रगती माध्यमिक विद्यालयले छोटो अवधिमै ISO का सम्पूर्ण सूचकहरू पूरा गरी प्रमाणन प्राप्त गर्नु ठूलो उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार, यो विद्यालय नेपालमै ISO प्रमाणन प्राप्त गर्ने दोस्रो विद्यालयको रूपमा स्थापित भएको छ। “ISO केवल कागजी प्रमाणपत्र होइन, यो निरन्तर गुणस्तर सुधारको प्रक्रिया हो। यसलाई जोगाइराख्न विद्यालयले सबै मापदण्डहरूको पूर्ण रूपमा पालना गर्नुपर्छ,” उहाँले जोड दिनुभयो।विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले विद्यालयलाई ISO प्रमाणित संस्थाका रूपमा स्थापित गर्न योगदान पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, तथा स्थानीय सरकारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो सफलता सबैको सामूहिक प्रयासको प्रतिफल हो। आगामी दिनमा पनि हामी गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरी अघि बढ्नेछौं।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी पौडेलले कार्यक्रमको अध्यक्षता गर्दै प्रगती मावि अब नाममै मात्र होइन, व्यवहार र कार्यशैलीमै उत्कृष्टता प्रदर्शन गर्ने संस्थाको रूपमा स्थापित भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयका सबै सरोकारवालाहरू—अभिभावक, शिक्षक, विद्यार्थी तथा व्यवस्थापन समिति—शैक्षिक गतिविधिप्रति अत्यन्त सचेत र जिम्मेवार रहेको बताउनुभयो।
कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक सरोज भट्टराईको कुशल सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, कार्यपालिका सदस्य चित्रलाल तुलाचन लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको प्रगतिप्रति खुशी व्यक्त गरेका थिए।
हाल १,७०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उल्लेखनीय प्रगति गर्दै आएको छ। कार्यक्रमकै अवसरमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य तथा स्काउटसम्बन्धी विभिन्न कला प्रदर्शन गरेका थिए, जसले उपस्थित सम्पूर्णलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रममा उपस्थित स्थानीय बुद्धिजीवी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रमुखहरूले प्रगती माध्यमिक विद्यालयको उपलब्धिलाई कञ्चनको समग्र शैक्षिक विकासको कोशेढुङ्गाको रूपमा व्याख्या गरेका थिए। उनीहरूले विद्यालयले हासिल गरेको ISO प्रमाणनले आगामी दिनमा अन्य विद्यालयहरूलाई समेत गुणस्तरीय शिक्षातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।
समग्रमा, श्री प्रगती माध्यमिक विद्यालयको ISO प्रमाणन प्राप्ति केवल एउटा संस्थागत उपलब्धि मात्र नभई कञ्चन गाउँपालिका र रुपन्देही जिल्लाको शैक्षिक उन्नयनतर्फको महत्वपूर्ण कदम हो। यसले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँदै शिक्षाको गुणस्तरमा दीगो सुधार ल्याउने अपेक्षा गरिएको छ।




