आदिवासी जनजाति महासंघ रुपन्देहीको ८औँ जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन


बुटवल, रुपन्देही। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीको ८औँ जिल्ला अधिवेशन बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले आदिवासी जनजाति समुदायको हक, अधिकार, भाषा, संस्कृति, पहिचान तथा सामाजिक न्यायको संरक्षण र प्रवर्द्धनमा महासंघले खेलेको भूमिकाको समीक्षा गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आदिवासी जनजाति समुदाय नेपालको मौलिक सभ्यता, संस्कृति र सामाजिक विविधताको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले आदिवासी जनजातिहरूले देशको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै स्थानीय तहले समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणका लागि सहकार्यलाई प्राथमिकता दिएको बताउनुभयो।
“समावेशी विकास, सामाजिक न्याय र समान अवसरको सुनिश्चितताका लागि आदिवासी जनजाति समुदायको सक्रिय सहभागिता आवश्यक छ,” उहाँले भन्नुभयो। नगर प्रमुख पाण्डेयले शिक्षा, सीप विकास, युवा सशक्तीकरण तथा सांस्कृतिक संरक्षणमा महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश समन्वय परिषद्का अध्यक्ष जितु तरामु मगरले आदिवासी जनजाति समुदायको अधिकार स्थापित गर्न संगठनात्मक एकता अपरिहार्य रहेको बताउनुभयो। उहाँले संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि समुदाय अझ सशक्त रूपमा संगठित हुनुपर्नेमा जोड दिनुभयो। भाषा, संस्कार, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षणसँगै नयाँ पुस्तालाई नेतृत्व विकास र शिक्षामा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै महासंघले प्रदेशभर समुदायको हितमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शंकर गाहा मगर, नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष थ्रक वार्हघरे मगर तथा नेपाल आदिवासी जनजाति राष्ट्रिय महिला महासंघ तिलोत्तमाकी अध्यक्ष दिलमाया गुरुङले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै आदिवासी जनजाति समुदायको एकता, पहिचान र अधिकार संरक्षणका लागि महासंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभएको थियो।
महासंघ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत कार्यकालमा आदिवासी जनजाति समुदायको हकहित, पहिचान, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, क्षमता विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य भएको जानकारी दिनुभयो। उहाँले समुदायका युवालाई नेतृत्व विकास, शैक्षिक अवसर तथा सीपमूलक कार्यक्रमसँग जोड्ने प्रयास गरिएको उल्लेख गर्नुभयो। विभिन्न जातीय संस्थाहरूबीच समन्वय र सहकार्यलाई मजबुत बनाउँदै सामाजिक सद्भाव तथा साझा अधिकारका सवालमा महासंघ निरन्तर सक्रिय रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो।
यसैगरी, कोषाध्यक्ष दिपक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाकी वरिष्ठ उपाध्यक्ष आशा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रेम कनौजे मगरले गर्नुभएको थियो।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार अध्यक्षमा आशा तमु, उपाध्यक्षमा ईन्द्र राई, अरुणा श्रेष्ठ र नेत्रलाल थारु, सचिवमा मीन सारु मगर, कोषाध्यक्षमा कृष्णबहादुर छन्त्याल, तथा सहसचिवमा शम्भु मोक्तान, धर्मेन्द्र शेरचन र रामानन्द कुमाल चयन हुनुभएको छ। अन्य पदाधिकारी तथा सदस्यहरू पनि अधिवेशनबाट चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनका लागि राज्य, स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। सहभागीहरूले शिक्षा, सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, युवा नेतृत्व विकास तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा महासंघले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न भएको थियो।



