spot_img

“कक्रोच जनता पार्टी” र नेपालको Gen Z आन्दोलनले देखाएको नयाँ राजनीतिक युग “

✍️ महेश घिमिरे ( केदार )

डिजिटल प्रविधिले हाम्रो जीवनशैली मात्र होइन, राजनीतिक चेतना र आन्दोलनको स्वरूपलाई पनि गहिरो रूपमा रूपान्तरण गरिरहेको छ। कुनै समय आन्दोलनहरू लामो संगठनात्मक तयारी, वैचारिक बहस र औपचारिक नेतृत्वको आधारमा अघि बढ्थे। तर आजको युगमा एउटा टिप्पणी, एउटा प्रतीक वा एउटा ‘मिम’ ले नै व्यापक राजनीतिक आन्दोलनको आधार तयार गर्न सक्छ। भारतमा देखिएको “कक्रोच जनता पार्टी” र नेपालमा देखा परेको Gen Z आन्दोलन, यही परिवर्तनशील युगका सशक्त उदाहरण हुन्।  

भारतमा हालै सुप्रीम कोर्टका चिफ जस्टिस सूर्यकान्तको विवादास्पद टिप्पणीले यतिबेला व्यापक चर्चा र बहस उत्पन्न गरेको छ। बेरोजगार युवालाई “कक्रोच (सांग्ला)” र “परजीवी” सँग तुलना गरिएको भनाइपछि, अभिजीत दीपकेले १६ मे २०२६ मा सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक अभियानका रूपमा कक्रोच जनता पार्टी (CJP) को घोषणा गरेका थिए। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययनरत ३० वर्षीय दीपकेद्वारा सुरु गरिएको यो अभियान बेरोजगारी र युवाका असन्तुष्टिलाई व्यंग्यात्मक शैलीमा अभिव्यक्त गर्ने प्रयासका रूपमा यतिवेला भारतमा भुसको आगोझैँ तीव्र रूपमा फैलिएको छ। अपमानजनक सन्दर्भमा प्रयोग गरिएको एउटा शब्दले यति ठूलो तहल्का मच्चाउला भन्ने सायदै कसैले पनि अनुमान गरेको थिएन होला। भनिन्छ नि बन्दुकबाट निस्किने गोलीभन्दा मुखबाट निस्किने शब्द धेरै गुणा शक्तिशाली हुन सक्छन्। भन्ने उदाहरण “कक्रोच जनता पार्टी” को अभियानलाई हेरे पुग्छ। अपमान गर्दै बोलिएको त्यही शब्द विरोध र प्रतिरोधको प्रतीकका रूपमा रूपान्तरण भएको देखिन्छ।

 युवाहरूले अपमानलाई नै आफ्नो पहिचान बनाएर डिजिटल माध्यममार्फत असन्तुष्टि व्यक्त गर्न थाले। अभिजीत दिपकेको पहलमा सुरु भएको यो अभियान सतहमा व्यंग्यजस्तो देखिए पनि यसको तीव्र विस्तारले गहिरो सामाजिक मनोविज्ञानलाई उजागर गरेको छ। बेरोजगारी, अवसरको असमानता, शिक्षा प्रणालीप्रतिको निराशा र संस्थाप्रतिको घट्दो विश्वास—यी सबै कुरा मीम, व्यंग्य र प्रतीकमार्फत अभिव्यक्त भइरहेका छन्। “आलसी र बेरोजगारको आवाज” भन्ने नारा वास्तवमा मजाक मात्र होइन, प्रणालीप्रतिको तीखो कटाक्ष हो।

नेपालमा भएको Gen Z आन्दोलन अझ प्रत्यक्ष र प्रभावशाली रूप लिएको देखिन्छ। लामो समयदेखि थुप्रिँदै आएको असन्तुष्टि सामाजिक सञ्जालमार्फत फैलिँदै अन्ततः सडकमा प्रकट भयो। सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको आन्दोलन क्रमशः उग्र बन्दै गयो, जसले राज्य, राजनीतिक नेतृत्व र सार्वजनिक संरचनामाथि प्रत्यक्ष चुनौती प्रस्तुत गर्‍यो। केही स्थानमा हिंसा, तोडफोड र मानवीय क्षतिका घटनाहरूले आन्दोलन र राज्यलाइ विवादित बनायो। यद्यपि, यसले राजनीतिक संरचनामा परिवर्तनको बहसलाई तीव्र बनायो र नयाँ शक्ति उदयको सम्भावनालाई समेत अघि ल्यायो।

यी दुई घटनाले देखाउने साझा पक्ष भनेको युवा पुस्तामा बढ्दो असन्तुष्टि र परम्परागत राजनीतिक प्रणालीप्रतिको अविश्वास हो। डिजिटल प्लेटफर्मले उनीहरूलाई छिटो, व्यापक र प्रभावकारी रूपमा जोड्ने काम गरेको छ। अब आन्दोलन कुनै एक नेताको नियन्त्रणमा सीमित रहँदैन, बरु सामूहिक भावना, नेटवर्क र एल्गोरिदमद्वारा सञ्चालित हुन्छ। यही कारणले यस्ता आन्दोलनहरू अचानक फैलिन्छन् र छोटो समयमै ठूलो प्रभाव पार्न सक्षम हुन्छन्।

तर यो नयाँ राजनीतिक युग चुनौतीरहित छैन। डिजिटल माध्यमबाट जन्मिएका आन्दोलनहरू प्रायः भावनात्मक उभारमा आधारित हुन्छन्, जसले स्पष्ट नीति, दीर्घकालीन योजना र स्थिर नेतृत्वको अभाव निम्त्याउन सक्छ। नेपालमा देखिएको जेनजि आन्दोलनको उग्रता र त्यसका परिणामहरूले देखाउँछन् कि असन्तुष्टि जब नियन्त्रणबाहिर जान्छ, त्यसले विध्वंस निम्त्याउन सक्छ। भारतमा देखिएको “कक्रोच जनता पार्टी” पनि यदि व्यंग्यको सीमाभन्दा बाहिर निस्केर वास्तविक राजनीतिक शक्तिमा रूपान्तरण हुन्छ भने, त्यसले कस्तो दिशा लिन्छ भन्ने प्रश्न अझै खुला छ।

 यथार्थ स्पष्ट छ—युवाको आवाजलाई बेवास्ता गर्ने राजनीतिक प्रणाली दीर्घकालसम्म टिक्न सक्दैन। जब औपचारिक संरचनाले उनीहरूको अपेक्षा पूरा गर्न असफल हुन्छ, उनीहरू वैकल्पिक माध्यम खोज्छन्, बाध्य हुन्छन् । एक्काइसौँ शताब्दीको यो घडीमा यहाँ हरेक कुराहरू परिवर्तनशील छन्। हो यहाँ चुड्कीको तालमा रिजल्ट खोजिन्छ। आज त्यो माध्यम डिजिटल संसार बनेको छ। यही कारणले मिम, ह्यासट्याग र प्रतीकहरू नयाँ राजनीतिक भाषामा रूपान्तरण भएका छन्।

निष्कर्ष:- “कक्रोच जनता पार्टी” र नेपालको Gen Z आन्दोलनले देखाएको नयाँ राजनीतिक युगले एउटा स्पष्ट सन्देश दिन्छ—राजनीति अब केवल शक्ति र संरचनाको खेल मात्र होइन; यो भावना, पहिचान र डिजिटल अभिव्यक्तिको पनि समिश्रण हो। तर परिवर्तनको वास्तविक मूल्य त्यतिबेला मात्र स्थापित हुन्छ, जब आक्रोशलाई सही दिशामा रूपान्तरण गर्न सकिन्छ , जब आन्दोलनले नीति, दृष्टि र जिम्मेवारीको रूप लिनसक्छ, र तब भावनात्मक उभारलाई दीर्घकालीन सुधारमा परिणत गर्न सकिन्छ। अन्यथा, यस्ता उभारहरू क्षणिक तरंगमै सीमित हुने जोखिम सधैं रहिरहन्छ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर