spot_img

अक्सफोर्ड माध्यमिक विद्यालय : शिक्षा, संस्कार र भविष्य निर्माणको केन्द्र

 बुटवल  – महेश घिमिरे (केदार)

हरेक शहरको आफ्नै एउटा परिचय हुन्छ—कतै उद्योगले, कतै व्यापारले, कतै राजनीतिक इतिहासले। तर रुपन्देही जिल्लाको बुटवललाई शैक्षिक उत्कृष्टता र उज्यालो भविष्यको केन्द्रका रूपमा चिनाउने यात्रामा वर्षौँदेखि निरन्तर गुञ्जिँदै आएको एउटा नाम हो—अक्सफोर्ड माध्यमिक विद्यालय

बिहानै विद्यालय परिसरभित्र पाइला टेक्नेबित्तिकै त्यहाँ केवल विद्यार्थीहरूको भीड देखिँदैन, देखिन्छ  सपनाहरूको चहलपहल कतै पुस्तक बोकेर दौडिरहेका विद्यार्थी, कतै विज्ञान प्रयोगशालामा भविष्य खोजिरहेका जिज्ञासु आँखा, कतै मञ्चमा उभिएर आत्मविश्वासका साथ बोलिरहेका किशोर स्वर, त कतै खेलमैदानमा पसिनासँग संघर्ष गर्दै उज्यालो भविष्य निर्माण गरिरहेका प्रतिभाहरू ।

अक्सफोर्डको परिचय केवल “राम्रो रिजल्ट ल्याउने विद्यालय” को रूपमा मात्र सीमित छैन । यो त एउटा यस्तो शैक्षिक आँगन हो, जहाँ किताबसँगै संस्कार पढाइन्छ, प्रतिस्पर्धासँगै मानवीयता सिकाइन्छ र आधुनिकतासँगै आफ्नो मौलिक संस्कृति जोगाउन प्रेरित गरिन्छ ।

वि.सं. २०४८ सालतिर जब देश राजनीतिक परिवर्तनको नयाँ मोडमा थियो, त्यही समय शिक्षामा नयाँ चेतना भित्र्याउने उद्देश्यसहित केही शिक्षाप्रेमी व्यक्तित्वहरूले एउटा सपना रोपे । त्यो सपना आज विशाल वटवृक्ष बनेर हजारौँ विद्यार्थीको जीवन उज्यालो बनाइरहेको छ ।

समय बदलियो, प्रविधि बदलियो, पुस्ता बदलियो; तर अक्सफोर्डको मूल उद्देश्य कहिल्यै बदलिएन — “गुणस्तरीय शिक्षा र असल नागरिक निर्माण” ।

त्यसैले यहाँ विद्यार्थीहरू केवल परीक्षाका लागि मात्र तयार पारिँदैनन्, जीवनका लागि तयार पारिन्छन् ।

विद्यालयभित्र हुने गतिविधिहरूले यसको फराकिलो दृष्टिकोण झल्काउँछन् ।  कहिले नेपाली मौलिक गीतमा झुमिरहेका विद्यार्थी देखिन्छन्, कहिले विज्ञान प्रदर्शनीमा नयाँ आविष्कार प्रस्तुत गर्दै ।

कहिले वादविवाद प्रतियोगितामा तर्क गरिरहेका हुन्छन्, त कहिले खेल मैदानमा हार र जितभन्दा माथि उठेर अनुशासन र संघर्ष सिकिरहेका हुन्छन् ।

विद्यालयले प्रविधिमैत्री शिक्षण विधि अपनाउँदै व्यवहारिक ज्ञान र नैतिक शिक्षासँगै नेपाली कला, भाषा, संस्कृति र परम्परालाई समेट्दै आएको छ। यहाँ विद्यार्थीहरूले आपसी सद्भाव र सहअस्तित्वको भावनासहित सिक्ने तथा विभिन्न गतिविधिमा सहभागी हुने अवसर पाउँछन्।

विद्यालयमा हुने विविध सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो मौलिक पहिचानसँग जोड्दै राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउन निरन्तर योगदान दिइरहेका छन् ।

सायद यही कारण हो, यहाँबाट निस्किने विद्यार्थीहरू केवल डाक्टर, इन्जिनियर वा व्यवस्थापक मात्र बन्दैनन्; उनीहरू जिम्मेवार नागरिक पनि बन्छन् । 

शैक्षिक उपलब्धिको कुरा गर्ने हो भने अक्सफोर्डले राष्ट्रिय स्तरमा बनाएको इतिहास निकै गौरवपूर्ण छ ।एमबिबिएस छात्रवृत्ति परीक्षा होस् वा एसएलसी, एसइई तथा +२ तहका राष्ट्रिय नतिजा — विद्यालयले पटक–पटक नेपाल प्रथम र उत्कृष्ट स्थान हासिल गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । यी सफलताहरू कुनै संयोग होइनन् ।

यी त वर्षौँदेखिको मेहनत, अनुशासन, शिक्षकहरूको समर्पण र विद्यालयको दूरदर्शी सोचको परिणाम हुन् ।अहिले करिब चार हजार विद्यार्थी अध्ययनरत रहेको अक्सफोर्ड। आधुनिक पूर्वाधार, डिजिटल शिक्षण प्रणाली, सुविधासम्पन्न प्रयोगशाला र अनुभवी शिक्षकहरूको साथमा अझ प्रभावकारी शैक्षिक यात्रातर्फ अघि बढिरहेको छ ।

विद्यालयका प्राचार्य दिनेश भुसाल भन्छन्, “हामी विद्यार्थीलाई केवल पढाउने मात्र होइन, उनीहरूलाई समाजप्रति जिम्मेवार, नैतिक र सक्षम नागरिक बनाउने लक्ष्यसहित अघि बढिरहेका छौँ ।” उनका अनुसार शिक्षा भनेको केवल प्रमाणपत्र हासिल गर्नु मात्र होइन, जीवन बुझ्ने क्षमता विकास गर्नु पनि हो ।

आज अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलको एउटा विद्यालय मात्र छैन, यो हजारौँ अभिभावकको भरोसा, विद्यार्थीहरूको सपना र समाजको गर्व बनेको छ ।

जहाँ ज्ञानले उज्यालो दिन्छ, संस्कारले मार्ग देखाउँछ र सपनाहरूले भविष्य कोर्छन् — त्यही उज्यालो केन्द्र बनेको छ अक्सफोर्ड माध्यमिक विद्यालय ।

 

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर