spot_img

लायन जीवन घिमिरेद्वारा जन्मदिनको अवसरमा न्यानो कपडा वितरण

लायन जीवन घिमिरेद्वारा जन्मदिनको अवसरमा न्यानो कपडा वितरण
सैनामैना ।
लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष लायन जीवन घिमिरेले आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गर्नुभएको छ। लायन्सको वार्षिक कार्ययोजना अन्तर्गत सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै घिमिरेले शुक्रबार सैनामैना नगरपालिका–१० अन्तर्गतको झिमझिमिया क्षेत्रका विपन्न परिवारलाई लक्षित गरी न्यानो कपडा वितरण गर्नुभएको हो।
चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोग्दै आएका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा झिमझिमिया क्षेत्रका करिब ३० घरपरिवारलाई न्यानो कपडा प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले युवाहरूको यस्ता सामाजिक तथा रचनात्मक कार्यले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई सामाजिक सेवामा रूपान्तरण गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, सैनामैना नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरेले आफ्नो वडालाई छनोट गरी विपन्न बस्तीमा न्यानो कपडा वितरण गरेकोमा लायन्स क्लब र अध्यक्ष घिमिरेप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ सैनामैना मलमलाकाका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माले लायन सदस्यहरू आफ्नो व्यक्तिगत आवश्यकतामा कटौती गरी समाजको हितका लागि निरन्तर सक्रिय रहने गरेको बताउनुभयो। उहाँले यस्ता सेवामूलक कार्यहरूले सकारात्मक सामाजिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
जन्मदिनको अवसरलाई अझै अर्थपूर्ण बनाउँदै अध्यक्ष घिमिरेले पशुपतिनाथ क्षेत्रमा बाँदरलाई केरा खुवाउनका लागि २ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ। साथै, रोल्पाका अति विपन्न बिरामी बालक सिस्टम सुनारको उपचारका लागि औषधि खरिदार्थ ३ हजार ५ सय ५५ रुपैयाँ नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायमार्फत प्रदान गर्नुभएको छ। यसका अतिरिक्त उहाँले “रक्तदान जीवनदान हो” भन्ने सन्देशसहित बुटवलस्थित रक्तसञ्चार केन्द्रमा गई रक्तदान समेत गर्नुभएको जानकारी दिनुभयो।
कार्यक्रम लायन्स क्लब अफ सैनामैना मलमलाकाका अध्यक्ष जीवन घिमिरेको अध्यक्षता, सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यता तथा वडा नम्बर १० का अध्यक्ष कृष्णप्रसाद घिमिरे र क्लबका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा सैनामैना–९ का निवर्तमान वडाध्यक्ष तथा सामाजिक अभियन्ता डोलराज भण्डारी, लायन्स क्लबका पदाधिकारी, विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम लायन अर्जुन ज्ञवालीको संयोजन, संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको स्वागत मन्तव्य तथा संस्थाका प्रथम उपाध्यक्ष चन्द्रप्रकाश वनको सञ्चालनमा सम्पन्न भएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर