spot_img

कन्चन रुद्रपुर युवा क्लबको ८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रुद्रपुर कप फुटबल प्रतियोगिताको समुद्घाटन

रुद्रपुर युवा क्लबको ८ औँ वार्षिकोत्सवको अवसरमा आयोजित रुद्रपुर कप फुटबल प्रतियोगिताको समुद्घाटन

गोविन्द आचार्य २३ पौष २०८२ / कञ्चन गाउँपालिका

रुद्रपुर युवा क्लब कञ्चन ४ रूपन्देहीको ८औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुला रुद्रपुर कप नकआउट फुटबल प्रतियोगिता २०८२ को आज भव्य रूपमा समुद्घाटन गरिएको छ।
कार्यक्रम रुद्रपुर युवा क्लबका अध्यक्ष लालबहादुर थापाको अध्यक्षता, कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यता, कञ्चन गाउँपालिका गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर र प्रतियोगिताको प्रथम पुरस्कार सौजन्यकर्ता रूपबहादुर थापाको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको भव्य रूपमा समुद्घाटन गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि ढकालले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित, स्वस्थ र सकारात्मक समाज निर्माण गर्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पालिकाले खेलकुदको विकासका लागि आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा समेत पालिकाको बजेट अनुसार यस्ता प्रतियोगितालाई निरन्तर प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउने बताउनुभयो। उहाँले नियमित खेलकुद गतिविधिले युवालाई स्वस्थ अनुशासित र ऊर्जाशील बनाउँदै लागूपदार्थ तथा नकारात्मक क्रियाकलापबाट टाढा राख्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। उहाँले खेल जित हार भन्दा माथि रहेर खेल भावना र मर्यादा कायम राख्नुपर्नेमा जोड दिँदै अहिलेको खेलकुदको नारा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” रहेको बताउनुभयो।

कार्यक्रममा प्रतियोगिताको प्रथम पुरस्कार सौजन्यकर्ता रूपबहादुर थापालाई आयोजक समितिको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उहाँले खेलकुदमार्फत युवाको प्रतिभा प्रस्फुटन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनुभयो।

कार्यक्रममा कञ्चन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशरबहादुर खत्री, कार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्य श्रीमाया नेपाली, ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिश खड्का, रुद्रपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मामकला गलामी, समाजसेवी, बुद्धिजीवी, स्थानीय खेलप्रेमी तथा सञ्चारकर्मीहरू लगाएतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका सचिव तथा खेल संयोजक दृष्टि रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका सदस्य लक्ष्मण बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उद्घाटन खेलमा समर्पण युवा क्लब सुपौली बुटवल र रुद्रपुर युवा क्लब आयोजक बीच प्रतिस्पर्धा भएको थियो। जसमा समर्पण युवा क्लबका खेलाडीहरूले दुई गोल गर्न सफल भएका थिए। आजको खेलबाट समर्पण युवा क्लब, सुपौलीका जर्सी नम्बर ७ का खेलाडी सुगम ठाकुरी ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको छ।
भोली पौष २४ गते एन्फा एकेडेमी बुटवल र गौतम बुद्व बिकास केन्द्र कन्चन ५ पिपरीचापा बीच दिउसो २ बजेदेखी खेल हुने आयोजकले जनाएको छ ।
क्लबका सचिव तथा खेल संयोजक दृष्टि रानाका अनुसार प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय हुने टोलीलाई पनि नगद ६५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा म्यान अफ द म्याचलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर