spot_img

बुटवलमा एम.जी. क्लब द्वारा मगर मौलिक खानासहित संस्कृति साझाँ कार्यक्रम सम्पन्न

एम.जी. क्लब द्वारा मगर मौलिक खानासहित संस्कृति साझाँ कार्यक्रम सम्पन्न
चन्द्रा थापा बुटवल
४४ औँ मगर एकता दिवसको पूर्व सन्ध्यामा एम.जी. क्लबले मगर समुदायको मौलिक खाना तथा समृद्ध सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। रुपन्देहीको बुटवल–११, देवीनगरस्थित देवसिद्ध चोक थ्री पोइन्ट गार्डेनमा फागुन ७ गते आयोजित उक्त कार्यक्रम क्लबका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल मगर संघ का केन्द्रीय सह–अध्यक्ष गङ्गा खासु मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
प्रमुख अतिथि गङ्गा खासुले मन्तव्य राख्दै कुनै पनि समुदायको पहिचान भाषा, धर्म, संस्कृति र संस्कारसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो। मगर समुदायको मौलिक भाषा, संस्कार र सांस्कृतिक पहिचानलाई राज्यले पर्याप्त प्राथमिकता नदिएको गुनासो गर्दै उहाँले दीर्घकालीन रूपमा ‘मगराँत राज्य’ को परिकल्पना अघि सारिएको जानकारी दिनुभयो। उहाँका अनुसार आदिवासी जनजातिहरूको जीवन जमिनसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ, तर विभिन्न स्थानका मगर भाषासँग सम्बन्धित नामहरू परिवर्तन हुँदै जाँदा समुदायको ऐतिहासिक पहिचान मेटिँदै गएको छ। ती नामहरूलाई पुनः मगर भाषामा स्थापित गर्न सबैले सचेत र सक्रिय भूमिका खेल्नुपर्ने उहाँको जोड थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बुटवल उपमहानगरपालिका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना उपस्थित हुनुहुन्थ्यो। उहाँले मगर दिवसको पूर्व सन्ध्यामा एम.जी. क्लबले संस्कृति संरक्षणको उद्देश्यले आयोजना गरेको कार्यक्रम समुदायको भावनासँग गहिरो रूपमा जोडिएको बताउनुभयो। मगर समुदायको परम्परा, भेषभूषा र मौलिक खानपानलाई जोगाउने अभियानमा क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
यसैगरी नेपाल मगर संघ जिल्ला समिति रुपन्देही का अध्यक्ष थर्क बहादुर बाह्रघरे मगरले एम.जी. क्लब अन्य क्लबहरूको तुलनामा आर्थिक रूपमा सक्षम र सामाजिक रूपमा सक्रिय संस्था भएको बताउनुभयो। स्थापना कालदेखि नै क्लबले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा, स्वास्थ्य र समुदाय केन्द्रित विभिन्न कार्यहरूमा योगदान पुर्‍याउँदै आएको उहाँको भनाइ थियो।
क्लबका संस्थापक अध्यक्ष तुलबहादुर सारुले एम.जी. क्लब स्थापना गर्नुको मूल उद्देश्य मगर समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक र मानवीय सेवामा अग्रसर गराउनु रहेको स्पष्ट पार्नुभयो। क्लबले विभिन्न स्थानमा सहयोग, राहत वितरण, सांस्कृतिक प्रवर्द्धन तथा सामाजिक सहकार्यका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी उहाँले दिनुभयो।
कार्यक्रमकै अवसरमा ९४ वर्षीय जेष्ठ नागरिक तथा 1/6 गोर्खा राइफलबाट अवकाश प्राप्त सार्जेन्ट श्री मानबहादुर सारु मगरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। उहाँको योगदानलाई स्मरण गर्दै क्लबले विशेष सम्मान प्रदान गरेको हो।
सांस्कृतिक कार्यक्रममा मगर मौलिक खानपानको विशेष व्यवस्था गरिएको थियो। सहभागीहरूले पारम्परिक स्वादको आनन्द लिँदै सांस्कृतिक एकताको अनुभूति गरेका थिए। राष्ट्रिय लोकदोहोरी कलाकार दीपिका बोयम्बु, सिद्धार्थ आले र दिपु मगरले आफ्ना बेजोड प्रस्तुतिबाट दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। साथै स्थानीय कलाकार भाइबहिनीहरूको नृत्य प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, मन्चमा  अतिथिगण, क्लबका सम्पूर्ण सदस्यहरू, एम.जी. महिला समूह तथा उल्लेख्य संख्यामा उपस्थित दर्शकहरूको सहभागिता रहेको थियो। क्लबका वरिष्ठ उपाध्यक्ष निल बहादुर कवर मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव निर बहादुर गाहाले गर्नुभएको थियो।
एम.जी. क्लब सामाजिक, सांस्कृतिक र मानवीय सेवामा निरन्तर सक्रिय संस्था भएको सहभागीहरूको धारणा रहेको थियो। समुदायभित्र विश्वास र भरोसाको वातावरण निर्माण गर्न क्लब सफल भएको बताइएको छ। आर्थिक पारदर्शिता, सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणप्रतिको प्रतिबद्धताका कारण क्लबप्रति सबैको विश्वास रहेको स्थानीयहरूले बताएका छन्।
समग्रमा, मगर एकता दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रमले मगर समुदायको पहिचान, एकता र सांस्कृतिक गौरवलाई थप मजबुत बनाएको छ। एम.जी. क्लबले देखाएको सक्रियता र समर्पणले भविष्यमा पनि यस्ता कार्यक्रममार्फत समुदायलाई संगठित र सशक्त बनाउँदै लैजाने विश्वास लिइएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर