सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय भोजराज पौडेलको नेतृत्वमा रोटरी क्लब अफ सैनामैनाद्वारा व्हिलचेयर वितरण
रोटरी क्लब अफ सैनामैनाले सामाजिक सेवाको आफ्नो निरन्तर अभियानलाई अघि बढाउँदै असहाय तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै व्हिलचेयर वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका वर्ष २०२५–२६ का अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ८ निवासी ८६ वर्षीया अनार्कली थारुलाई व्हिलचेयर प्रदान गरिएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्ट कृष्ण बहादुर कुंवर तथा माधव खनाल, इलेक्ट प्रेसिडेन्ट नारायण न्यौपाने, सैनामैना नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष बुद्धिराम थारू, रोटरीयन बिमल पौडेल लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले रोटरी क्लबले समाजमा गरिरहेका मानवीय कार्यहरूको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष भोजराज पौडेलले रोटरी संस्थाले विगतदेखि नै समाजका विभिन्न क्षेत्रमा निस्वार्थ सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, विपन्न तथा असहाय नागरिकको सहयोग लगायतका क्षेत्रमा रोटरीले निरन्तर काम गर्दै आएको बताउँदै यस्ता मानवीय कार्यले समाजमा विश्वास र सहकार्यको भावना बढाउने धारणा व्यक्त गर्नुभयो।
भोजराज पौडेल सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले विभिन्न सामाजिक अभियान, शैक्षिक गतिविधि तथा मानवीय सेवाका कार्यक्रमहरू मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्दै आउनुभएको छ। स्थानीय स्तरमा शिक्षा र सामाजिक सेवाका क्षेत्रमा उहाँले पुर्याएको योगदान उल्लेखनीय मानिन्छ।
व्हिलचेयर प्राप्त गरेपछि ज्येष्ठ नागरिक अनार्कली थारूले आफूलाई सहयोग गरेकोमा रोटरी क्लबप्रति आभार व्यक्त गर्नुभएको थियो। उहाँले यस सहयोगले दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने बताउनुभयो।
कार्यक्रमका सञ्चालक रोटरीयन विष्णुप्रसाद अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रमले समाजमा सहयोग र सहकार्यको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको थियो। रोटरी क्लब अफ सैनामैनाले आगामी दिनहरूमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस प्रकारका कार्यक्रमले समुदायमा सहयोग, मानवीयता र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय भोजराज पौडेलको नेतृत्वमा रोटरी क्लब अफ सैनामैनाद्वारा व्हिलचेयर वितरण
प्रतिक्रिया



