spot_img

अक्सफोर्ड सेकेन्डरी स्कुलको एसईईमा ऐतिहासिक सफलता ११ विद्यार्थीले ल्याए ४.० जीपीए

बुटवल, ३१ वैशाख । – महेश घिमिरे (केदार)

बुटवल–८, रुपन्देहीमा अवस्थित अक्सफोर्ड सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै पुनः आफ्नो शैक्षिक उत्कृष्टतालाई स्थापित गरेको छ ।

यस वर्ष विद्यालयबाट सहभागी १४३ जना परीक्षार्थीहरूमध्ये ११ जना विद्यार्थीले ४.०० जीपीए हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेका हुन् । त्यसैगरी ३.६० जीपीएभन्दा माथि ७२ जना, ३.२० जीपीएभन्दा माथि ५५ जना तथा ३.१३ जीपीएभन्दा माथि ४ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोन बन्जाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्षम श्रेष्ठ, सलिस के.सी., सायन भट्टचार्य, शिशिर बेलबासे र शिवम खड्का रहेका छन् ।

विद्यालयले हासिल गरेको यो सफलता केवल अंकको उपलब्धि मात्र नभई गुणस्तरीय शिक्षा, अनुशासन, संस्कार र समर्पित शिक्षण प्रणालीको प्रतिफल भएको विद्यालयका प्राचार्य दिनेश भुसाल बताउँछन् । उनका अनुसार विद्यालयले सुरुदेखि नै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आधुनिक शिक्षा, नैतिक मूल्य, नेतृत्व विकास, खेलकुद, कला, संस्कृति तथा अतिरिक्त क्रियाकलापलाई समान महत्त्वका साथ अघि बढाउँदै आएको छ ।

“हामी विद्यार्थीलाई केवल परीक्षामा उत्कृष्ट बनाउने होइन, जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिकका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढिरहेका छौँ,” प्राचार्य भुसालले भने, “यस वर्षको नतिजाले विद्यालय परिवारको निरन्तर मेहनत, विद्यार्थीहरूको लगनशीलता र अभिभावकहरूको विश्वासलाई थप मजबुत बनाएको छ ।”

प्रविधिमैत्री कक्षाकोठा, अनुभवी शिक्षक, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री शिक्षण पद्धतिका कारण अक्सफोर्डले राष्ट्रिय स्तरमै विशिष्ट पहिचान निर्माण गर्न सफल भएको उनले बताए ।

विद्यालय  परिवारले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ । साथै विद्यालयले उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मानसमेत गरेको जनाएको छ । आगामी दिनमा पनि अझ उत्कृष्ट शैक्षिक उपलब्धिमार्फत विद्यालयको गौरवलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर