समाजलाई शिक्षा

राजन फुयाल
नेपालमा साक्षरता दर बढिरहेको छ तर सामाजिक विवेकमा ¥हास हुँदै छ । सामाजिक मूल्यमान्यता, नैतिकता, इमानदारिता, जिम्मेवारीबोधजस्ता गुणबाट मानिसहरू टाढिँदै छन् । पढेलेखेका मनुवाहरूमा नै विवेक देखिँदैन । उनीहरू राज्य लुटेर व्यक्तिगत धन थुपार्न कम्मर कसेर लागेका छन् । देशै नरहे व्यक्तिको अस्तित्व धरापमा पर्ने जस्तो सामान्य चेतना पनि उनीहरूमा छैन । उनीहरूको सोच कसरी अकुत धन कुम्ल्याउने र राजसी ठाँटका साथ जीवनयापन गर्ने भन्ने कुरामै सीमित छ । हाम्रा कतिपय प्राज्ञहरू नै ठग छन् । राज्यको दोहनमा उनीहरूको पनि मिलेमतो छ । उनीहरूलाई बुद्धिजीवी वर्ग भन्नै सुहाउन्न ।
आज हाम्रो समाजमा वाहियात कुराले धेरै ठाउँ पाउँदै छ । त्यसैले सचेत हुनुपर्ने बेला आइसकेको छ । बकम्फुसे कुरा गर्ने व्यक्तिहरूलाई सामाजिक सञ्जालमा बारम्बार प्रसारण गरेर, भाइरल बनाएर नेपाली युवा–विद्यार्थीको ध्यान मोडिँदै छ, भड्काइँदै छ । यसले कालान्तरमा ठुलो समस्या निम्त्याउने पक्का छ । नेपालमा अहिले सानो बच्चादेखि वृद्धसम्म प्रायले इन्टरनेट प्रयोग गर्छन् । इन्टरनेटमा आउने हरेक सामग्रीले देशको भविष्यमा नै प्रत्यक्ष प्रभाव पर्छ । आज शिक्षकलाई भन्दा नेताको ड्रात्रलाई धेरै महत्व दिन थालिएको छ । यस्ता घटनाले हाम्रो समाजलाई अन्धकारतर्फ धकेल्दै छ ।
नेपाली जनता आर्थिक, राजनीतिक र सामाजिकरूपमा सचेत बन्नुपर्छ । आज हामीले गर्ने हरेक क्रियाकलापले भविष्यमा फरक पर्छ । त्यसैले सबैजना एकजुट भएर अध्ययन कार्यमा लाग्न, एकअर्कालाई प्रेरित गर्नु जरुरी छ । घर–घरमा संसारमा कुन देश कसरी अगाडि बढे, कस्ता–कस्ता समाजले कसरी प्रगति गरे, त्यसको नेतृत्व गर्ने अगुवाहरू को–को थिए, तिनीहरूको के–कस्ता योगदानले समाजलाई कसरी अगाडि बढाए, समाजका कस्ता खोटले समाजलाई रसातलमा पु¥याउँछ र देशलाई विदेशीको दास तुल्याउँछ आदि विषयमा अध्ययन गोष्ठी गरिनुपर्छ ।
चोक–चोकमा, चिया पसलहरूमा यी विषयमा छलफल हुनुपर्छ । विद्यार्थीहरूले समेत चमत्कारी परिवर्तन भएका देश, समाज र जनताबारे चाख लिनुपर्छ अनि त्यस विषयमा आफ्नो घरपरिवार र छरछिमेकलाई बताउनुपर्छ । तब मात्रै हामी सुन्दर नेपालको सुन्दर भविष्यको कल्पना गर्नसक्छौँ । आजको आवश्यकता साक्षर समाजसँगै बुद्धिजीवी समाजको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर