‘आचार्य’ नेपाली गायन र सङ्गीत क्षेत्रको एउटा प्रतिबिम्ब

  • योगेन्द्रमान बिजुक्छेँ

(भजन शिरोमणिको उपनामले चिनिने गायक भक्तराज आचार्य आज हाम्रोसामु हुनुहुन्न । फागुन १४ गते उहाँको देहावसान भयो । ‘मजदुर’ दैनिक परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्झनामा ‘मजदुर’ दैनिकमा सिनेमा समीक्षा विधामा २०६८ असोज १७ गते छापिएको यस आलेख पुनः प्रकाशित गरिएको छ । – सं.)
सङ्गीतको टेढोमेढो बाटो
भर्खरै नेपाली सिनेजगतमा एउटा नयाँ आयाम थपेका छन् ‘आचार्य’ ले । साङ्गीतिक आकाशमा भजन शिरोमणिको तक्माले विभूषित व्यक्तित्व भक्तराज आचार्य हुन् । नेपाली आधुनिक, लोक सङ्गीत र गायन क्षेत्रका एक सशक्त व्यक्तित्व उनै भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली सिनेमा ‘आचार्य’ रिलिज भई विभिन्न सिनेमा हलमा प्रदर्शनमा हुँदै छ ।
नेपालको साङ्गीतिक इतिहास र यसको साधनामा लाग्ने नेपाली कलाकारहरूको बारेमा खासै चर्चा परिचर्चा हुने गर्दैन । साहित्य, सङ्गीत र कलाका बारेमा नेपाली समाजमा सार्वजनिक छलफल र बहस भएको पनि धेरै भएको छैन । राणाकालमा दरबारियाहरूको मनोरञ्जनको लागि सीमित सङ्गीत र गायकी सामान्य जनताको पहुँचभन्दा परको विषय थियो । त्यसै पनि नाचगान र सङ्गीतको साधनामा लागेका व्यक्तिहरूलाई नेपाली समाजले हेर्ने दृष्टिकोण पनि सकारात्मक थिएन । नेपाली परम्परागत समाजमा सङ्गीतको साधनाको जिम्मा एउटा जात विशेषलाई दिइने र त्यस जातलाई अछुटको दर्जामा राखिने सामन्तवादी सोच र परम्पराले पनि यस विधालाई नेपाली परम्परागत समाजले सहजै स्वीकार्ने चलन थियो ।
सङ्गीतले मानवीय भावना र संवेदनालाई सजिलै छुन्छ । त्यसैले, यसलाई मन नपराउने मानिस सायदै होला । कसैलाई सङ्गीतले छिट्टै आकर्षण गर्छ त कसैलाई बिस्तारै । कसैका लागि त सङ्गीत नसा नै हुन्छ । यस्तो जादुमय शक्तियुक्त सङ्गीत र यसका साधकहरू सधैँ राजनैतिक र सामाजिक बन्धनमा बाधिरहने कुरै भएन । देशमा भएको राजनैतिक परिवर्तन सँगैको खुला वातावरणमा अरु कुराजस्तै सङ्गीतका साधकहरू पनि चलमलाउन थालेको प्रतीत हुन्छ । तर, त्यस सङ्गीत साधनाका बाटाहरू सिधा र सरल थिएनन् । बरु, टेढामेढा र कैयौँ उकाली ओरालीहरू थिए र त्यसको गन्तव्यको केही टुङ्गो हुँदैन थियो । यति हँुदाहँुदै पनि सङ्गीतको साधना तिनीहरूको लागि स्वीकार्य थिए । यसको आदि र अन्तसँग कुनै पर्वाह नगरी उनीहरू यस बाटोलाई पछ्याउँदै गए, स्वरका आरोह र अवरोहजस्तै कहिले माथि र कहिले तल । यही दौरानमा नेपालको पूर्व, पश्चिम र काठमाडौँमा यस्ता विभिन्न सङ्गीतका साधकहरूको उदय भयो ।
नेपाली साङ्गीतिक आकाशका अग्रजहरू
पश्चिम नेपाल कास्कीका धर्मराज थापा र अलि मियाँ, काठमाडौँमा मास्टर रत्नदास प्रकाश, भक्तपुरकै विवेकदास, नातिकाजी, शिव शङ्कर र पछिको पुस्तामा देखापरे नारायण गोपाल, माणिक रत्नहरू । पूर्वी नेपालको चिया बगान र दार्जलिङ क्षेत्र त सङ्गीतका साधकहरूको लागि उर्वर भूमि हुन पुग्यो । अमर गुरुङ, गोपाल योन्जन, कर्म योन्जन, अरुणा लामा पूर्वबाटै उदाए । यही क्रममा सन् १९४२ मा पूर्वको चिया बगान दुरअस्मा जन्मेका भक्तराज आचार्य अर्को साङ्गितिक प्रतिभा भएर फर्किए । सानैमा बुबा गुमाएका आचार्यको बाल्यकाल कष्टपूर्ण र दयनीय थियो । उनमा भएको सङ्गीत प्रतिभाले पनि उसको जीवनमा केही उमङ्ग ल्याउन सकेन । गायकहरू त्यतिबेला आजका क्यासेट प्लेयर र साउन्ड सिस्टमजस्तै मात्र थिए, गीत सुनाउने मेसिनहरू । उनीहरूमा हुने मानवीय संवेदनाहरूसँग कसैलाई वास्तै हुँदैन थियो ।


भक्तराजको इतिवृत्तान्त
पूर्वी नेपालका प्रवासी नेपालीहरूको लागि आफ्नो प्रतिभालाई पूर्णरूपमा फक्रन दिन दार्जलिङको घेरा सानै हुन्थ्यो र अन्य नेपालीहरूको लागि पनि । उनीहरूको गन्तव्य काठमाडौँ नै हुन्थ्यो । अमर गुरुङ, गोपाल योन्जन, दीप श्रेष्ठ र अन्यको कथा पनि त्यस्तै थियो । भक्तराज आचार्यले पनि त्यही नियति भोग्नुपर्यो ।
भनिन्छ, सहरको जीवन सङ्घर्षमय हुन्छ गाउँको तुलनामा । तर, त्यहाँ फक्रने अवसरको पनि उपलब्ध हुन्छ । काठमाडौँको बसाइँपछि आफू बिस्तारै स्थापित हुँदै जान्छ भक्तराज । चिसो र अँध्यारा छिँडीको बासबाट ऊ उज्यालो कोठासम्म डेरा सर्ने र मधेसीको चटपटबाट रेस्टुराँको मःमः सम्मको यात्रामा पुग्छ भक्तराज । आखिर वैवाहिक जीवनमा बाधिन्छ र आप्mनो सासूले उपलब्ध गराएको सानो जमिनको टुक्रामा सानो घरसम्म ठड्याउने हैसियतमा पुग्छ । लाग्छ, उनका दुःखका दिनहरू गए अब । तर, साँच्चिकै मानिसको जीवन सिधा र सरल रेखामा नहिँड्दो रहेछ । नागपासका सिँढीजस्तै माथि उक्लिँदै गएका भक्तराज सफलताको १०० नम्बरको अन्तिम कोठामा पुग्ने बेला ९९ को सर्पको डसाइमा परेर फेरि शून्यमा झरेका खेलाडीजस्तै भक्तराजको जीवनमा फेरि कालो बादलले घेरिन पुग्छ । गुण्डाहरूको आतङ्क र शान्ति सुरक्षाका ठेकेदारहरूको कर्तव्यच्युतबाट एउटा दुःखद घटनामा उनी करिब मृत्युको मुखसम्मै पुग्छ । सायद यही पिटाइको कारण प्राणघातक क्यान्सरबाट पीडित बन्न पुगेका गायक भक्तराज गायकको जिब्रो नै काट्नुपर्ने दृश्य र त्यसपछिका दिनहरूमा बिरक्तिएर उनको आत्महत्याको प्रयासका दृश्यलाई सिनेमामा सशक्त ढङ्गमा प्रस्तुत गरिएको छ ।
सिनेमाको सन्देश
‘आचार्य’ ले गायक भक्तराजको जीवनको इतिवृत्तान्त त प्रस्तुत गरे । तर, यसले तत्कालीन नेपाली सङ्गीतका इतिहासका केही झझल्को आम मानिससामु पस्कन सफल भएको छ । साङ्गीतिक क्षेत्रमा लाग्ने साधकहरूको कर्णप्रिय, मिठो र कालजयी सृजनाहरूका पछाडिका दयनीय र दर्दनाक कथा, व्यथाका पाटाहरूलाई पनि छ्याङ्गै पारेका छन् आचार्यले । तत्कालीन समयमा सङ्गीत साँच्चिकै साधना र तपस्या थियो । अर्थोपाजन र व्यक्तिगत लाभका उद्देश्य कता हो कता पर क्षितिज पारी नै हुन्थ्यो भन्ने तथ्यलाई पनि उजागर गरेको छ यस सिनेमाले । सङ्गीतका साधकहरू भावुक, सोझा र सिधा हुन्छन् । उनीहरूको प्रतिभाको आडमा गिद्धले सिनो लुछेजस्तै कमिसन लुट्न उनीहरूको पछाडि दौड्ने लुचाहरूको बिगबिगी पनि सिनेमामा प्रस्तुत गरिएको छ । धूर्त सङ्गीतका साधकहरू पनि त्यतिबेला थिए भन्ने प्रसङ्ग पनि सिनेमामा प्रस्तुत गरिएको छ । पाकिस्तानी वरिष्ठ गायक गुलाम अलीलाई दक्षिण एसियाकै गजल सम्राट मानिन्छ । नेपालमा भएको एउटा साङ्गीतिक कार्यक्रममा गुलाम अलीले आफ्नो प्रस्तुति सिध्याएपछि नेपाली कलाकारहरूको लागि मञ्च खाली गरिदिएको हुन्छ । त्यहाँ उक्लिने साहस कसैले गर्दैन । एक जना नेपालीले नै भक्तराजलाई उल्लु बनाउने नियतले मञ्चमा गएर गाउन उस्काउँछ । विचरा सोझो भक्तराज उक्लिन्छन् र आफ्नो गीत प्रस्तुत गर्छन् निर्धक्कसँग । तर, उनको स्वरको जादुगरीबाट गुलाम अलीसमेत प्रभावित हुन्छ ।
दुःख र पीडा नेपाली सङ्गीत साधकहरूको पर्याय बनेको छ । स्वर सम्राट नारायणगोपाल, सङ्गीतकार गोपाल योन्जन, अरुण थापा, राम थापा, कुमार कान्छाहरू सबैले नेपाली सङ्गीतको आकाशमा कुनै न कुनै हिसाबले नयाँ आयाम थपेर नेपाली आधुनिक, लोक र शास्त्रीय सङ्गीतलाई धनी बनाएर गए । तर, राष्ट्रको निधि भनिने यी साधकहरूको अन्तिम क्षण सुखद अवश्य थिएन । उनीहरू राज्यबाट उपेक्षित भए । भक्तराज आचार्य जिउँदा त्यस्ता निधि हुन् जसको गुण नेपाली साङ्गीतिक क्षेत्रमा गतिलै छ । यस्ता राष्ट्रिय निधिहरू राष्ट्रिय गौरवका विषय हुन् । यिनीहरूको सम्मान गर्नु राज्यको दायित्व हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर