शैक्षिक क्षेत्रलाई माथि उठाउन हरेक वर्गलाई समेटेर जानुपर्ने सरोकार वालाको जोड

मंसिर २५ बुटवल । शैक्षिक क्षेत्रलाई माथि उठाउन हरेक वर्गलाई समेटेर उनीहरूको क्षमता विकास हुने गरी बजेट विनियोजन गर्नु जरूरी रहेको एक कार्यक्रमका सरोकारवालाहरूले बताएका छन् । शिक्षामा लगानी , कर व्यवस्थापन तथा आन्तरिक श्रोत परिचालन विषयक जिल्लास्तरीय छलफल तथा अन्तरक्रियाका सहभागी सरोकारवालाले सो बताएका हुन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति रूपन्देहीको आयोजनामा सेतो गुराँस बाल विकास केन्द्रलगायत विभिन्न संघसंस्थाको समन्वयमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलहरूले शैक्षिक क्षेत्रलाई आफ्नो चुनावी एजेन्डा बनाउने तर पछि कार्यान्वयन नगर्ने परिपाटी रहेको भन्दै दुखेसो व्यक्त गरेका छन् ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका प्रदेश सचिव तथा शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ले समग्र शैक्षिक अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले शिक्षाको अवस्थालाई माथि उठाउन लगानी बढी हुनुपर्ने उल्लेख गरे ।
सो कार्यपत्रमा स्थानीय तहका विद्यालयमा भएका विभिन्न समस्याहरू उल्लेख गरिएको छ ।
शिक्षक दरबन्दी , विषयगत र तहगत शिक्षकको अभाव , स्थानीय तहमा शिक्षा शाखामा कर्मचारी अभाव , भौतिक संरचना कमजोर , विद्यालय सुधार योजना र कार्यान्वयनमा चुनौति , विद्यालयको योजना अनुसार पालिकाको योजना बन्न नसक्नुलगायतका समस्याहरू रहेका छन् । यस्तै विविध कारणले लुम्बिनी प्रदेशमै वार्षिक ६३ हजार विद्यार्थी ड्रप आउट हुने गरेको भेटिएको छ ।

स्थानीय तहका विद्यालयमा विविध समस्या भएपनि कतिपय भने राम्रा अभ्यासहरू भएको उल्लेख गरिएको छ । जस्तै अनुदानमा शिक्षक व्यवस्था , स्वयमसेवक शिक्षक व्यवस्था , बालविकास केन्द्र , कक्षाकोठा व्यवस्थापन र शिक्षक प्रोत्साहन , स्कुल बसको व्यवस्था , स्कुल नर्सको व्यवस्था , विद्यालयमा इन्टरनेट , पालिकाकै दिवा खाजा , एक शिक्षक एक ल्यापटप , जंक फुड निशेधलगायत राम्रा पक्षले विद्यार्थीको संख्यामा वृद्धि भएको उल्लेख गरिएको छ।

विद्यालय तहमा शिक्षाको अधिकार स्थानीय तहको भए पनि लगानीको दायित्व भने तिनवटै सरकारको भएको तर यसबाट प्रदेश र संघिय सरकार पञ्छिन खोज्नु , वडा , गाउँ , र नगरमा शिक्षा समिति गठन नहुनु र भएका पनि सक्रिय नभएको अनुगमनका क्रममा भेटिएको उल्लेख छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखाका यादव विष्ट , सिद्धार्थनगर नगरपालिकाका अनिश ढकाल , सैनामैना नगरपालिकाका शिक्षा अधिकृत राधा बेलबासेलगायतले बोलेका थिए । कार्यक्रममा रूपन्देहीका अन्य स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका संयोजक सुमित्रा शर्माले आफूहरू जहिले पनि सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै कतिपय अवस्थामा त्यी पक्षले अपहेलनाको दृष्टिले हेर्ने गरेको दुखेसो व्यक्त गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर