सिद्धान्तहीन गठबन्धनः घुसलाई प्रसाद ठान्छ

२६ फागुन, काठमाण्डौ
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विशेष समयमा सिद्धान्तहीन गठबन्धन गर्दै शासक दलहरू घुसलाई प्रसाद र भ्रष्टाचारलाई पूजा ठानेको उल्लेख गर्दै ठुलो सम्पत्ति, उच्च पद र उच्च सम्मान असत्य बोल्दाको पारितोषिक ठान्ने तिनीहरू हिमालयमा चिप्लेटी खेलेजस्तै उठ्नै नसक्नेगरी पछारिने बताउनुभयो ।
भक्तपुर दरबार क्षेत्रको हाल चित्र सङ्ग्रहालय रहेको लिच्छविकालीन सिंहध्वाका दरबार लिच्छविकालीन शैलीमा पुनःनिर्माण गर्ने जिम्मा भक्तपुर नगरपालिकालाई दिनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले कोभिड–१९ महामारी नियन्त्रण गर्न विश्व बैङ्कबाट अर्बौँ रूपैयाँको औषधि उपकरण खरिदमा करोडौँ भ्रष्टाचार भएको सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने उल्लेख गर्नुभयो ।
बिहान ११ बजे सुरू हुनुपर्ने बैठक नेकाको संसदीय दलको बैठकको कारण मध्याह्न १२ बजेपछि सुरू भएको थियो ।
शून्य समयमा माओवादीका सांसद मीना तामाङले संविधानमा ‘जनयुद्ध’ शब्द थप्नुपर्ने उल्लेख गर्नुभयो भने नेकाका सांसदले माओवादी द्वन्द्वको कारण नेपाल ५० वर्ष पछाडि परेको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनामा सरकारको गोलीबाट दुई युवक मारिएको बारे त्यहाँ पुगेका नेकपा (एस) का मन्त्री प्रकाश ज्वालाको राजीनामा माग मन्त्रिमण्डल पुनःगठनसँगै सम्बोधन भएको, मिटरब्याज पीडित, कतिपय सहकारीमा भएको बचत ठगी, लघुवित्त पीडित, दूध किसानको भुक्तानी, रामग्रामको जग्गा बहाल, रूसी सेनामा भर्ती भएका नेपालीबारे कारबाही भइरहेको बताउनुभयो ।
नेकाले कोसी प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यमा माओवादी उम्मेदवारलाई मत नदिँदा अन्तर्घात भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेकाको महासमिति बैठकमा गठबन्धनको विरोध भएको, स्टल राखी हिन्दू राज्यको हस्ताक्षर गरिएको, २०४७ सालको संविधान ठीक भएको प्रतिवेदन वितरण गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेकाको संसदीय दलको बैठकले आफूलाई ‘बेइमान’ भनेको उल्लेख गर्दै प्रम दाहालले नेकाको पिँजडा बन्न नचाहेको बताउनुभयो ।
नेकाका सांसद रमेश लेखकले चुनावमा नेकासँग गठबन्धन गरी जित्ने र सरकार गठनमा अरूसँग लाग्ने प्रम दाहालबाट बेइमानी नै भएको स्पष्ट पार्नुभयो ।
प्रम दाहालले नेकासँगको सरकारको काम प्रभावकारी नभएको कुराको खण्डन गर्दै सांसद लेखकले चौध महिनासम्म प्रधानमन्त्री दाहाल के गरेर बिताउनुभयो भनी प्रश्न गर्नुभयो
एमालेका सांसद विष्णु पौडेलले सत्ताबाट बहिर्गमन भएकोमा नेका छटपटिएको उल्लेख गर्दै नेका किस्तीमा प्रधानमन्त्रीको पद राखेर नेता नेताको घरमा चहारेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर