“म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।”-प्रम दाहाल

एमाले र माओवादीको सहमतिअनुसार पुष्पकमल दाहाल २३ महिना र केपी ओली २३ महिना प्रधानमन्त्री हुनेछन् । यो गठबन्धनको सहयोगी रास्वपा, जसपा, जनमत, नाउपा, लोसपलगायत हुनेछन् । यो गठबन्धनको औचित्य प्रधानमन्त्री पालैपालो बन्नेबाहेक देश र जनताको हित के कसरी हुने हो, एमाले अध्यक्ष ओलीले स्पष्ट पारेका छैनन् । माओवादीका अध्यक्ष दाहालले भने, “म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ ।” प्रम दाहालले पनि देश र जनताको हितमा के काम गर्ने हो बताएका छैनन् ।
एमाले र माओवादीको गठबन्धनसहित नयाँ मन्त्रीमण्डल गठन भएपछि नेका सभापति शेरबहादुर देउवाले भने, “माओवादीबाट आकस्मिकरूपमा धोका भएको छ ।” नेकाका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले भने, “नयाँ सत्ता समीकरण बाह्य शक्तिको समेत प्रभाव हुनसक्ने अनुमान छ ।”
नेका सभापति देउवाले दाहाललाई आफ्नो गठबन्धनमा कायम राख्न मन्त्रीहरू फेरबदलदेखि राष्ट्रियसभाको अध्यक्ष दिने वाचा गरेका थिए । दाहालले नेकाको भर्खरै सम्पन्न महासमितिको बैठकमा २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बहुमतबाट निर्णय गरिएको र नेका र उपसभापति एवं दाहालको मन्त्रिपरिषद्का उपप्रम पूर्णबहादुर खड्काको महासमितिमा पेस भएको प्रतिवदेनमा माओवादीको २०५२–६२ को गृहयुद्धलाई हिंसात्मक घटनाको रूपमा उल्लेख गरिएको थियो । माओवादीले यी विषयलाई नै मुख्य मतभेद बनाई सत्ता समीकरण एमालेसँग गरेको नेकाको दाबी रहेको छ ।
नेपालको राजनीतिलाई नजिकबाट बुझ्नेहरू नेपालमा सत्ता परिवर्तन भारतीय शासकवर्गको इसारामा नै भइरहेको स्पष्ट छ । राणा शासकहरूको १०४ वर्षको जहानियाँ शासन, नेकाको राणाविरोधी आन्दोलन, २०१७ सालको राजा महेन्द्रको राजनीतिक विप्लव, २०४६ सालको परिवर्तन, माओवादीको गृहयुद्ध र गणतन्त्रको घोषणासम्म भारतीय शासकहरू संलग्न भएको पुष्टि भइरहेको छ । युरोप र अमेरिकाको साम्राज्यवादी सरकारहरूले दक्षिण एसियामा सत्ता परिवर्तनको जिम्मा भारतीय शासकवर्गलाई दिएको पुष्टि भइरहेको छ ।
नेका, एमाले, माओवादीलगायत कुनै पनि सरकारले सुगौली सन्धि, गोर्खा भर्ती, सन् १९५० को नेपाल–भारत सन्धि, कोसी, गण्डक, महाकाली, कर्णालीलगायत जलविद्युत् सम्झौताको खारेजीको आवाज नआएको यही कारण हो ।
माओवादीमा हुँदा दाहालका सहयोगी बाबुराम भट्टराईले प्रतिगमनको आकार तयार पार्ने खतरा बढेको टिप्पणी गरे । दाहाललाई माओवादी लडाकुको अर्बाँै रुपैयाँ खाएको आरोप लगाई पार्टीबाट अलग भएका बाबुरामको पार्टी गएको चुनावमा माओवादीको चुनाव चिह्नमा लडेर प्रतिनिधिसभामा दुई स्थान हात पार्न सकेको थियो ।
नेपालका दाहाल र भारतको बिहारका मुख्यमन्त्री नितिशकुमार दुवै ‘पल्टुराम’ भएको टिप्पणी पनि सार्वजनिक भइरहेको छ । दाहालले कुनै पनि निहुँमा एमालेसँगको यो गठबन्धन नतोड भन्न सक्दैनन् । यस अर्थमा नेका र एमालेमै परिपक्वता नभएको टिप्पणी सार्वजनिक भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर