पुष ८ रुपन्देही। रुपन्देहीको तिलोत्तमामा गरिएको लगानी सम्मेलनको प्रतिबद्धताअनुसार नगरपालिकाभित्र ट्राम रेल चल्ने भएको हो। तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँडले शुक्रबार ट्राम रेलको शिलान्यास गर्नु भएको हो । नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको यो योजना नगरवासीको साथ र सहयोगमा सम्पन्न हुने मेयर खाँडले बताउनुभयो ।
अघिल्लो सरकारको पालामा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा यो परियोजना अगाडि बढाइएको थियो । तत्कालीन मेयर वासुदेव घिमिरेले लगानी सम्मेलनमा लगानीकर्ताले देखाएको चाहनाअनुसार तत्काल डीपीआर बनाउन लगाउनुभएको थियो । यो योजना नगरपालिकाले पब्लिक कम्पनी मोडेलमा अघि बढाएपछि प्रदेश सरकारले समेत सहयोग गरेको थियो ।
कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन गर्न प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी जुटाइने छ । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुनेछ । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबी लगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताउनुभयो।