बुटवल,११ पुस । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले अर्थतन्त्रमा देखिएको समस्या विज्ञसँग सुझाव लिएर समाधान गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले अहिले अर्थतन्त्रमा देखिएका समस्याका विषयमा विज्ञसंग छलफल गर्दै समाधान गर्ने दाबी गरे । बिग्रदो अर्थतन्त्रलाई सबैसंग संवाद र सहकार्य गरेर अहिलेको समस्या समाधान गर्ने उनको प्रतिबद्धता छ ।
‘संकटको डिलमा रहेको यो अर्थतन्त्रलाई सुरक्षित ठाँउमा फर्काउन र व्यवस्थित रुपले अघि बढाउनका लागि धेरै मेहनत गर्नुपर्ने उनले बताए । अर्थ जगतका सबै पक्ष संग सहकार्य गरेर अहिले देखिएको समस्या समाधान गर्न चाहेको पौडेलले बताए । पौडेलले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउन आफ्नो प्राथमिकता हुने जानकारी गराए ।
‘सबैभन्दा पहिला अर्थतन्त्रका समस्या पहिचान गर्ने आफ्नो प्राथमिकता हुने र त्सपछि अर्थतन्त्रका चुनौतीहरू विज्ञका सुझावका आधारमा समाधान गरिनेछ उनले बताए । अर्थतन्त्र संकटको डिलमा रहेपनि काबु बाहिर नरहेको उनको भनाई छ । उनले पूर्वाग्रह नराखी काम गर्ने भन्दै अर्थ मन्त्रालयलाई असफल हुने छुट नरहेको बताए ।
पारदर्शितालाई जोड दिने भन्दै पौडेलले बन्द कोठामा कुनै काम नगरी खुल्ला रुपमा गर्न कर्मचारीलाई समेत निर्देशन दिए । मन्त्रीबाट कुनै गलत काम हुँदैछ भने यो काम गर्नु हुँदैन भनेर कारणसहित सुझाव दिन पनि उनले कर्मचारीसंग आग्रह गरे ।