तिलोत्तमाको प्रमुखमा चापागाईं र उपप्रमुखमा चौधरीकाे उम्मेदवारी दर्ता, विष्णु पौडेलले दिए शुभकामना

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका तर्फबाट मोहन चापागाईंले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले प्रदेश कमिटी सदस्य र पत्रकार समेत रहेका उनले तिलोत्तमा नगरपालिकाको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी उपमेयरमा जगेश्वरदेवी चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । तिलोत्तमाका १७ वटै वडाका वडाअध्यक्ष एवं सदस्य समेत गरी ८७ जनाको उम्मेदवारी दर्ता गरिएको एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेले जानकारी दिए ।

उम्मेदवारी दर्ताका लागि एमालेको कार्यकर्ता बाजागाजा र र्यालीसहित निर्वाचन कार्यालय पुगेका थिए । ¥यालीमा उम्मेदवारसहित तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे लगायत ठूलो संख्यामा कार्यकर्ता सहभागी थिए । त्यसअघि विष्णु पौडेलले मेयर, उपमेयर लगायत सबै उम्मेदवारलाई शुभकामना दिएका थिए । कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइनचार्ज लिला गिरी पनि उपस्थित थिए ।

त्यसक्रममा उनले एमालेले ७५३ स्थानीय तहमध्ये ६० प्रतिशत स्थानमा विजयी हासिल गर्ने दावी गरे । तिलोत्तमा नगरपालिकामा एमालेले नेतृत्व गर्दा मुलुककै नमूना नगर बन्न सफल भएको भन्दै उनले गठबन्धन सामू एमाले एक्लै विजय हासिल गर्न सक्षम रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पाँचदलीय गठबन्धनलाई परास्त गर्न एमाले तयार रहेको भन्दै बिगतमा भन्दा भारी मतान्तरले जित निकाल्ने दावी गरे । नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुकै कारण देशभर चर्चा बटुलिरहेको अवस्थामा कतिपय कामहरुको दिगो व्यवस्थापन गर्न बाँकी रहेकोले ती काम पुरा गर्ने जिम्मेवारी चापागाईले लिनुपर्ने भन्दै शुभकामना दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर