तिलोत्तमा । तिलोत्तमा नगरपालिकाका मतदाताहरुले विकास गरेर प्रमाणित भैसकेको पार्टीका उम्मेदवारलाई भोट दिने बताएका छन् । नेकपा एमालेका उम्मेदवारहरुको घरदैलोको क्रममा मतदाताहरुले विकासलाई जानेबुझेको पार्टीका उम्मेदवारलाई यस पटक पनि भोट दिने बताएका हुन् ।
तिलोत्तमामा २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गरेर नगरलाई मुलुककैं नमूना बनाएकोले त्यसलाई अझै राम्रो बनाउन यस पटक पनि एमालेका उम्मेदवारलाई भोट दिने मतदाताको आश्वासन छ । वडा नं. १५ का कृष्ण प्रसाद पाण्डेयले एमालेले राम्रो काम गर्छ भन्ने देखिसकेकोले यस पटक पनि एमालेका उम्मेदवारलाई भो दिने बताए ।
“तिलोत्तमालाई एमालेका जनप्रतिनिधिहरुले रोलमोडल बनाउनु भएको छ । भैरहेका कामलाई अझै राम्रो बनाउने र बाँकी योजना पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ” उनले भने, “राम्रो काम गर्नेलाई अवसर दिनुपर्छ ।” सरकारको नेतृत्व फेरिँदा भैरहेका काम पनि अलपत्र पर्ने गरेको संघीय र प्रदेश सरकारको अनुभव रहेकोले पनि प्रमाणित भैसकेको पार्टीलाई भोट दिने अर्का मतदाता पवन भण्डारीले बताए । “अन्य ठाउँको बारेमा थाहा भएन । तिलोत्तमामा एमालेले राम्रो गरेको छ । यसमा कुनै शंका छैन ।” उनले भने ।
एमालेका उम्मेदवारहरुले अहिले सुरु गरेका कामलाई गन्तव्यमा पुर्याउँदै अपूरा कामको पूर्णताको लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । तिलोत्तमा नगरपालिका लगातार दुई पटक मुलुकमैं उत्कृष्ट नगरपालिका बनिसकेको छ । तिलोत्तमामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, सहरी सौन्दर्य, पछि परेको वर्ग, समुदायको उत्थानको लागि यहाँ नमूनायोग्य काम भएका छन् ।
एमालेले नगर प्रमुखमा युवा नेता मोहन चापागाईंलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा क्षमतावान् नेतृ जागेश्वरी चौधरीलाई उम्मेदवार बनाएको छ । नेतृत्व र निर्णय क्षमतामा अब्बल चापागाईंले स्थानीय तथा राष्ट्रिय स्तरका संघ संस्थाको नेतृत्व सम्हालेको अनुभव छ । यस्तै चौधरी तिलोत्तमाको निवर्तमान उपमेयर हुन् । राजीनामा गरेर उनी अहिले चुनावी अभियानमा होमिएकी छिन् ।
काँग्रेस र माओवादी गठबन्धले संविधानको मर्मविपरीत नगर प्रमुख र उपप्रमुख दुवैमा पुरुषलाई नैं उम्मेदवार बनाएका छ । गठबन्धनले प्रमुख पदमा एक जना पनि महिला उम्मेदवार नबनाएकोमा सबैतिर आलोचना भएको छ । संविधानले महिलाको हक अधिकारको लागि प्रमुखमध्ये एक पदमा महिला प्रतिनिधि बनाउनु पर्ने व्यवस्था गरे पनि गठबन्धनले महिलाहरुको भावना विपरीत दुवै पदमा पुरुष उम्मेदवार बनाएपछि पार्टीभित्रै तीव्र असन्तुष्टी छ । “गठबन्धनले महिलालाई भोट बैंकको रुपमा मात्र लियो । महिलाको अर्थपूर्ण सहभागिता गराएन । यसले पार्टीभित्र असन्तुष्टि बढ्नु स्वभाविक हो । ” गठबन्धनकी एक नेतृले बताइन् ।