मतदाता झुक्याउँदै काँग्रेस उम्मेदवार, टेण्डर भैसकेको सडकलाई बनाउने आश्वासन

तिलोत्तमा । स्थानीय तह सदस्य निर्वाचन-२०७९ को सन्दर्भमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेस एजेण्डाविहीन भएको पाइएको छ । नगरमा तीन वटा अस्पताल निर्माणको क्रममा रहँदै गर्दा प्रमुख प्रशासकीय भवनलाई अस्पताल बनाउछु भन्नु, ग्लोबल टेण्डर भएर निर्माणको चरणमा रहेको मंगलापुर-कान्छीबजार सडकलाई प्राथमिकतामा राखेको बताउनु जस्ता उम्मेदवारका अभिव्यक्तिहरुले काँग्रेस एजेण्डाविहीन देखिएको हो ।
आइतबार काँग्रेसका नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाँण वडा नम्बर ७ को सेमरामा पुगेर मंगलापुर-कान्छीबजार सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नती गरिने बताए । जबकी सो बाटो निर्माणको लागि नेकपा एमालेको नेतृत्व रहेको तिलोत्तमा नगरपालिकाले ग्लोबल टेण्डर गरेर निर्माण प्रक्रिया अघि बढाइसकेको छ । ग्लोबल टेण्डरबाट बनाउन थालिएको यो तिलोत्तमाको पहिलो योजना हो ।
विश्व बैंकको सहयोगमा बनाउन थालिएको यो सडक यस क्षेत्रकैं नमूना हुने आयोजनाले जनाएको छ । मंगलापुर-कान्छीबजार सडक विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एन.यु.जी.आई.पी) मार्फत् निर्माण हुन थालेको हो । निकैं लामो तयारीपछि विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान भएर प्रक्रिया अघि बढेको छ ।
कार्यसम्झौताको दुई वर्ष भित्र निर्माण सक्ने गरी टेण्डर आह्वान भएको छ । सडक निर्माणको लागि स्थानीय स्तरमा छलफल, वातावरणीय प्रभाव मूल्यांकनलगायतका सम्पूर्ण प्रक्रिया पूरा भैसकेका छन् । अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको छ । सडक निर्माणको क्रममा खानेपानी, विद्युत्, टेलिफोनका पोल व्यवस्थापनका सबै काम हुनेछन् । फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो सडक पहिलो चरणमा ५ किलोमिटर निर्माणको लागि टेण्डर आह्वान भएको हो । बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम क्रमशः अघि बढ्ने नगरपालिकाले जनाएको छ ।
सडक निर्माणको लागि नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्षहरु दुर्गा पाण्डेय, नारायण न्यौपाने, व्यासमुन चौधरीलगायतका जनप्रतिनिधिहरुले विश्व बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दासँग विभिन्न चरणमा छलफल एवं अन्तरक्रिया गरेका थिए । टेण्डर भएर निर्माणको प्रक्रियामा रहेको सडकलाई बनाउछु भनेर मतदातालाई भ्रममा पारिएको स्थानीय बासिन्दाले बताए । काँग्रेसका उम्मेदवारलाई तिलोत्तमा नगरमा के भैरहेको छ भन्ने बारे थाहा समेत भएको पाइँदैन । नगरमा तीन वटा अस्पताल निर्माणको प्रक्रियामा रहँदै गर्दा उनले प्रमुख प्रशासनिक भवनलाई अस्पताल बनाउने कुरालाई आफ्नो प्रतिबद्धता पत्रको महत्वको साथ उल्लेख गरेका मात्र छैनन् । आफूले जितेपछिको पहिलो काम प्रशासनिक भवनलाई अस्पताल बनाउने अभिव्यक्ति सार्वजनिक रुपमैं पटक पटक दिएका छन् । शनिबार हिमालय टिभीको कार्यक्रममा समेत उनले यहीँ अभिव्यक्तिलाई प्राथमिकतामा दिएका थिए ।
तिलोत्तमा नगरपालिकाले कोराना महामारीको बेला केवलानीमा रहेको सभाहलमा ६० बेड क्षमताको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको थियो । तिलोत्तमाका हरेक वडामा सरकारी स्वास्थ्य संस्था पुगिसकेका छन् । असामान्य अवस्थावाहेक अस्पताल कार्यालयीय प्रयोजनको लागि बनाइएको भवनमा सञ्चालन गर्न मिल्दैन भन्ने कुराको सामान्य जानकारी समेत उम्मेदवारले नराखेको पाउँदा मतदाताले उनको कार्यक्षमता माथि नैं प्रश्न उठाउन थालेका छन् ।
उम्मेदवार खाँण तिलोत्तमा नगरपालिकामा कहाँ के भएको छ भन्ने बारेमा समेत जानकार छैनन् । अघिल्लो चुनावमा बासुदेव घिमिरेसँग पराजित भएपछि उनी फर्किएर एक पटक पनि नगरपालिका नपुगेको त्यहाँका कर्मचारीहरु बताउँछन् । सार्वजनिक महत्वको कार्यक्रमहरुमा अतिथिको रुपमा निमन्त्रणा पठाइए पनि उनी आएनन् । नगरका गतिविधिहरुमा सहभागी नभएकोले तिलोत्तमामा के के काम भैरहेको छ भन्ने बारेमा उनलाई खास जानकारी नभएको हुन सक्ने काँग्रेसकैं कार्यकर्ताहरु बताउँछन् ।
काँग्रेसले एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने कुरालाई प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । तर, पछिल्ला वर्षहरुमा एकीकृत सम्पत्ति करको सट्टा पालिकाहरुमा सम्पत्ति कर लगाउने गरिन्छ । संघीय सरकारको निर्देशअनुसार सम्पत्ति करको व्यवस्था गरिएकोमा काँग्रेसले आफ्नो घोषणा पत्रमा एकीकृत सम्पत्ति कर भन्ने शब्दाबली प्रयोग गरेको छ ।
एकातिर कर घटाउने अर्कोतिर लागत सहभागिता नजुटाउने अनि बाटोहरु धमाधम कालोपत्रे गर्ने भन्ने कुरा आफैंमा तर्कसंगत देखिँदैन । यो मतदातालाई सरासर जुक्काउने खेल भएको जानकारहरु बताउँछन् । काँग्रेसका घोषणापत्र आफैंमा बाझिएको उनीहरुको बुझाइ छ । आर्थिक स्रोत नभइकन कसरी विकास हुन्छ भन्ने बारेमा काँग्रेसले स्पष्ट पारेको पाइँदैन । काँग्रेसले मुलुकमैं उत्कृष्ट बनेको तिलोत्तमाका असल अभ्यासहरुलाई निरन्तरता दिने कुरामा मौनता साँधेको छ । जबकी तिलोत्तमाका असल अभ्यासहरुलाई अन्य पालिकामा पार्टीहरुले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर