संकटमा छन् प्रशोधित पानी उत्पादन गर्ने उद्योगहरु

पुरुषोत्तम पाण्डे
हामी सबैलाई थाहा छ, पानी मानव जीवनको लागि अपरिहार्य बस्तु हो । पानीविना प्राणीजगतको परिकल्पना समेत गर्न सकिँदैन । मानव स्वास्थ्यमा पानीको ठूलो महत्व छ । हामी मानवले पिउने पानी स्वच्छ हुन जरुरी छ । यो ब्राह्मणमा भएको सबै पानी मानवको लागि पिउन योग्य छैन । पिउन योग्य पानी बनाएर त्यसलाई बजारमा पठाउने काममा हामी उद्योगीहरु लागि रहेका छौं ।
प्रशोधित पिउने पानीको व्यवसाय आफैंमा संवेदनशील व्यवसाय हो । किनकी यो मानव स्वास्थ्यसँग सिधैं जोडिएको हुन्छ । पानीजस्तो संवेदनशील व्यवसायमा पनि तमाम समस्याहरु छन् । एकातिर हाल भैरहेका उद्योगले बजारको समस्या झेल्नु परेको छ भने अर्कोतर्फ नयाँ उद्योग थपिने क्रम पनि रोकिएको छैन । यस्तो अवस्थाले देशको अर्थतन्त्रलाई राम्रो गर्दैन । यसर्थ नयाँ उद्योग थपिने क्रमलाई निरुत्साहित गर्दै भएका उद्योगलाई राम्रो बनाउने तर्फ सरकारको ध्यान जान जरुरी छ । पानी उद्योगमा आउने लगानीलाई अन्यत्र लगाउँदा त्यसले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्ने देखिन्छ । किनकी बजारको समस्या, कच्चापदार्थको चरम मूल्यवृद्धि, कामदारको अभावलगायतका कारण यहाँका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।
हामीकहाँ कच्चा पदार्थको रुपमा पानी मात्र छ । बाँकी बोत्तल, बोत्तलको ढकन, लेबल, पानी प्रशोधन गर्ने मेसिन, त्यसलाई र्याप गर्ने प्लाष्टिक, केमिकल लगायतका सबै वस्तु आयात गर्नुपर्ने अवस्था छ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि निरन्तर भैरहँदा ढुवानीको लागत उत्तिकै बढेको छ । लागत अनुरुपको आम्दानी नहुनु, २४ सैं घण्टा, ३६५ दिन नैं सेवा दिनुपर्दा यो व्यवसायमा लागेकाहरु टिक्न सक्ने अवस्था छैन । बाहिरबाट हेर्दा जे देखिन्छ, यो व्यवसायमा छिरेपछि वास्तविकता थाहा हुन्छ ।
मानव जीवनमा निकै महत्वपूर्ण मानिने पानीको सहज आपूर्ति र स्वच्छता कायम राख्न पछिल्लो पटक रुपन्देहीलगायत मुलुकभर पानी उद्योग खुल्ने क्रम जारी छ । तर, पानी उत्पादकहरु संगठित नहुँदा यो व्यवसायमा विभिन्न समस्याहरु देखा परिरहेका छन् । यसै सन्दर्भमा यस क्षेत्रमा छरिएर रहेका पानी व्यवसायीलाई संगठित गराउन निकै लामो छलफल र मेहनेतपछि रुपन्देही पानी उद्योग संघ स्थापना भएको हो ।
“एकका लागि सबै र सबैका लागि एक” भन्ने सिद्धान्त, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै व्यवसायिक हितको लागि सामूहिक रुपमा संगठित हुने मूख्य उद्देश्यका साथ यस क्षेत्रमा रहेका प्रशोधित पानी उत्पादकहरु समेटी सुरु गरिएको अभियानबाट रुपन्देही पानी उद्योग संघ स्थापना भएको हो । सर्वप्रथम संस्थालाई यस स्थानसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुहुने संस्थापक पदाधिकारी, सदस्य, सल्लाहकार, आवद्ध उद्योगीलगायतका सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछु । पानी उत्पादकहरुमा भाइचाराको विकास गरी एकआपसमा एकता कायम गर्नु नैं संघको प्रमुख उद्देश्य रहेको छ । यसका अतिरिक्त प्रशोधित पानी उत्पादन गर्ने उद्योगीहरुबीच व्यवसायगत सु—सम्बन्ध र एकता कायम गर्ने, पानीको गुणस्तर कायम राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पानीको शुद्धतालाई विशेष ध्यान दिने, प्रशोधित पानीको माग, आपूर्ति र बजार विकास तथा संरक्षणको निमित्त बजार अनुसन्धान र अध्ययन गरी प्रभावकारीताको योजना बनाउनेलगायतका विभिन्न उद्देश्य संघले लिएको छ ।
यी उद्देश्य पूरा गर्न संघले प्रशोधित पिउने पानीसँग सम्बन्धित प्रचलित ऐन, नियमावली, मापदण्डको कार्यान्वयन गराउन सरकारी निकायसँग समन्वय गर्ने, व्यवसायीक हितको लागि विभिन्न प्रकारका रचनात्मक काम गर्ने, पानीको गुणस्तर बढाउन विभिन्न प्रवद्र्धनात्मक काम गर्ने लगायतका काम हुँदै आएका छन् । संघमा हाल ५० भन्दा बढी उद्योगीहरु आवद्ध हुनुभएको छ । संघ स्थापना भएपछि पानी व्यवसायीबीच एकता, हार्दिकता अभिवृद्धि मात्र भएको छैन, उद्योगीका कतिपय समस्याहरु समाधान गर्न समेत संघ सफल भएको छ । वास्तवमा सदस्य उद्योगीहरुको कर्तव्यबोध, समन्वय र सहकार्यले नैं संस्था आजको दिनसम्म आएकोले आगामी दिनमा यहाँहरुको अझैं उन्नत स्तरको सहयोगको अपेक्षा हामीले गरेका छौं ।
हामीहरुको एकता पानीको स्वच्छता अभिवृद्धिको लागि मात्र रहेको म सबैलाई स्पष्ट पार्न चाहान्छु । हामी नियमनकारी निकायसँग हातेमालो गरेर हिँड्न तयार छौं । हामी उपभोक्ताप्रति पूर्ण उत्तरदायी रहेको पनि म जानकारी गराउन चाहान्छौं । पानी उद्योगीका तमाम समस्या छन् । लगानी अनुरुपको उपलब्धी यो व्यवसायमा छैन । एकातिर हाल भैरहेका उद्योगले बजारको समस्या झेल्नुपर्ने अर्कोतर्फ नयाँ उद्योग थपिने क्रम पनि रोकिएको छैन । यस्तो अवस्थामा नयाँ उद्योग स्थापनामा कडाइ गरिनुपर्छ भन्ने संघको धारणा रहेको छ ।
(लेखक रुपन्देही पानी उद्योग संघका सचिव हुन् । संघको यहीँ असार २२ गते भएको पदस्थापन कार्यक्रममा निजले अभिव्यक्त गरेको विचारलाई यहाँ समेटिएको हो ।)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर