भियतनाम यात्रा – २
(फ्रान्सेली उपनिवेशदेखि भियतनामी देशभक्तिहरूको प्रतिकारसम्म (सन् १८५६ देखि १९३० सम्म)
हिन्द चीन फ्रान्सको कब्जामा
अठारौँ र उन्नाइसौँ शताब्दीमा संसारका धेरै देशहरूलाई बेलायत र फ्रान्सले उपनिवेश बनाउँदै थिए । यही क्रममा सन् १८५६ मा भियतनामको मध्तगमा रहेको बन्दरगाह सहर डा नाङमा फ्रान्समा सेप्टेम्बरको महिनामा हमला भयो । फेब्रुअरीसम्ममा दक्षिण भियतनामको प्रमुख सहर साइगोनलाई आफ्नो कब्जामा लियो । त्यहाँ स्थानीय सम्राटलाई सन् १८६२ जूनमा शान्ति सम्झौतामा हस्ताक्षर गराई भियतनामलाई आफ्नो अधिनस्थ बनाइयो । विस्तारै दक्षिणपूर्वी एसियाको हिन्द चीन (भियतनाम, कम्बोडिया र लाओस तीन देशको संयुक्त नाम) प्रायःद्वीपमा अवस्थित देशहरूलाई फ्रान्सले विस्तारै उपनिवेश बनाउँदै लग्यो । भियतनामको उत्तरी भाग हनोइ सहरलाई सन् १८७३ सम्ममा र सन् १८८७ सम्ममा लाओससम्मका क्षेत्रलाई फ्रान्सले आफ्नो अधिनस्थ क्षेत्र बनायो । यसरी भियतनामको उत्तरी भाग हनोइ सहर र रक्तनदी डेल्टा (नदीको मुहानको भूमि) (Red River Delta) सम्म तथा दक्षिण भियतनामको प्रमुख सहर साइगोन र मेकङ नदीको डेल्टा (Mekong River Delta) क्षेत्रसम्मलाई आफ्नो अधिनस्थ बनाइयो र सम्पूर्ण हिन्द चीन क्षेत्रलाई फ्रान्सले आफ्नो उपनिवेशमा फे¥यो ।
स्रोत दोहनको लागि पूर्वाधार
हिन्द चीन १९ औँ शताब्दीको उत्तराद्र्धसम्ममा फ्रान्सको लागि विश्वमा आफ्नो धाक जमाउने एक उपनिवेशको रूपमा स्थापित हुँदै थियो । हिन्द चीनको लागि फ्रान्सका गर्भनर जनरल पाउल डाउमरको तजबीजमा भियतनामी सरकारी कर्मचारीतन्त्रलाई बिस्तारै निस्तेज पार्दै फ्रान्सेली शैलीकै प्रणालीलाई लागु गर्दै लग्यो भने कुनै स्थानमा फ्रान्सेली कठपुतली स्थानीय सरकार बनाइयो । त्यस क्षेत्रमा विकास, पूर्वाधार, सिँचाइ, पुल पुलेसा तथा अन्य खेतीपाती, जग्गा खनजोतको लागि विस्तारै व्यवस्था गर्न थाल्यो । तर, उपनिवेशवादी फ्रान्सले नयाँ अधिनस्थ क्षेत्रहरूको समग्र विकासको लागि ती नयाँ बन्दोबस्त गर्न लागेको थिएन । हिन्द चीनको उपलब्ध खनिज स्रोत, जङ्गल स्रोत (विशेषगरी रबरको लागि), कोइला, अन्न–अनाजको व्यवस्थितरूपमा दोहन गर्न तथा भियतनामलाई फ्रान्समा उत्पादित सामानको लागि नयाँ बजारको रूपमा विकास गर्न ती सबै गरेका थिए ।
स–साना दैनिक उपभोगका सामान जस्तैः– चिनी, रक्सी तथा अन्य पेयपदार्थ, चामल, कागजजस्ता समान उत्पादनका कलकारखानाबाहेकमा फ्रान्सले केही ठुलो लगानीका साथ उद्योगधन्दा भियतनामा खोलेन । सन् १९३० सम्ममा भियतनामी जनताले फ्रान्सको लगानीमा खोलेका कलकारखानामा काम पाएका भनेकै करिब एकलाख जनताले हो ।
परम्परागत निर्वाहमुखी खेतीपाती गर्दै आफ्नो गुजारा चलाउँदै आएका भियतनामी समाजको पुरानो वर्गीय संरचनालाई डाउमरको नयाँ आर्थिक र सामाजिक नीतिले खल्बलाइदियो । अत्यधिक धानको परम्परागत खेतीले प्रधानता पाइरहेको स्थानमा नगदे बालीको रूपमा चिया, कफि तथा रबरको ठुलठुला क्षेत्रमा खेतीपाती गराउन थाल्यो । त्यस्तै, नयाँ नयाँ जमिनका फाँटहरू भूमि किसानलाई बाँड्नुको सट्टा मुट्ठीभरका धनीमानी भियतनामीहरू तथा फ्रान्सेली सरकारसँग सहकार्य गर्न इच्छुक भियतनामी परिवारहरूलाई कम पैसामा ती जग्गाहरू उपलब्ध गराउन थाले । डाउमरको यस भूमि नीति तथा नगदेबाली प्रणालीले भियतनामी समाज जग्गाधनी नयाँ बुर्जुवा (पुँजीपति) वर्ग र भूमिहीन गरिब किसानवर्ग गरी दुई वर्गमा विभाजित हुन गयो । करिब ३ प्रतिशत जग्गाधनीको हातमा खेतीयोग्य भूमिको ४५ प्रतिशत र करिब ७० प्रतिशत गरिब किसानहरूमा १५ प्रतिशतमात्र जग्गा हुन पुग्यो । मालिकलाई कुत बुझाउँदा, पैसा सापत दिने साहुलाई केही अंश तिर्दा र फ्रेन्च सरकारलाई केही कर तिर्दा किसानको हातमा मुश्किलले दुई छाक पुग्थ्यो । यसरी भियतनामी किसाहरूले आफूसँग भएको थोरै जमिन पनि बिस्तारै गुमाउँदै जानुपरेको थियो । दोस्रो विश्वयुद्धको पूर्वाद्धसम्ममा करिब भियतनामको आधा जनसङ्ख्या भूमिहीन अवस्थामा पुग्यो ।
दयनीय शिक्षा, स्वास्थ्य र आर्थिक अवस्था
आफ्नो उपनिवेश कालमा हिन्द चीनमा विकासका पूर्वाधार निर्माण गरेको, सञ्चार र यातायातको स्थापना गरेको, स्वाथ्य क्षेत्रमा सुधार गरेको, शिक्षाको विकास गरेको भन्नेजस्ता कुराहरूको उपनिवेशकर्ताले दाबी गरेको भए पनि तथ्य, तथ्याङ्क र वास्तविकताले त्यो पुष्टि गर्दैनथ्यो । सन् १९३९ को तथ्याङ्कले करिब ८० प्रतिशत भियतनामीहरू अशिक्षित भएको र मुश्किलले १५ प्रतिशतमात्र स्कूल जाने उमेरका केटाकेटीहरूले स्कूलमा पढ्न पाएको देखाउँथ्यो । जबकि फ्रान्सले उपनिवेश बनाउनुपूर्व नै भियतनामी जनताले कुनै न कुनै रूपमा शिक्षा प्राप्त गरेको मानिन्थ्यो ।
भियतनामका फ्रान्सेलीहरूका लागि राम्रो स्वाथ्य उपचार भए पनि व्यापक भियतनामीहरूका लागि स्वास्थ्यकर्मीको व्यवस्था अति कम थियो । त्यतिबेला प्रत्येक एक लाख भियतनामीहरूको लागि २ जनामात्र चिकित्सक पर्न आउँथ्यो जबकि सोही समयमा प्रत्येक एक लाख जापानीहरूको लागि ७६ जना र प्रत्येक एक लाख फिलिपिनोहरूको लागि २५ जना चिकित्सकको व्यवस्था थियो । थोरै शिक्षित भियतनामीहरूले पनि कुनै नागरिक र राजनैतिक अधिकार पाएका थिएनन् । न तिनीहरूले आधुनिक आर्थिक क्रियाकलापहरू जस्तैः– उद्योगधन्दा तथा बन्द व्यापारहरूमा भियतनामीहरूलाई संलग्न गरिएका थिए । यी सबैजसो आर्थिक कुरामा मूल फ्रान्सेलीहरूकै हात थियो । यसरी भियतनाममा पुँजीवादले ल्याएको नयाँ बन्दोबस्त र क्रियाकलापहरूमा भियतनामी जनताको संलग्नता अति न्यून थियो । एक हिसाबले फ्रान्सको उपनिवेश र त्यसले ल्याएको नयाँ पुँजीवादी क्रियाकलापहरू भियतनामी जनताको लागि पूर्णरूपमा पराइ थियो । यी नै कारणहरूले फ्रान्सको उपनिवेशको विरोधमा भियतनामी जनतालाई प्रतिरोध गर्न विस्तारै हौस्यायो ।
भियतनामी जनताको प्रतिरोध
भियतनाममा फ्रान्सको उपनिवेशको विरोधमा विभिन्न किसिमका प्रतिरोधात्मक ठुला साना आन्दोलनहरू सन् १८६० देखि सन् १९३० सम्म निरन्तर चल्दै गयो । तर, त्यो त्यति व्यवस्थित र योजनाबद्ध आन्दोलन र विद्रोह थिएन । सुरुमा प्रतिकार गर्नेहरूको मुख्य उद्देश्य पुरानै राजा रजौताको शासनलाई पुनस्र्थापित गर्नु थियो । भावनाले प्रेरित भएर गरिएका त्यस्ता विद्रोहहरू नेतृत्वकर्ताको गिरफ्तारी र अवसानसँगै त्यसै सेलाउँथ्यो । उपनिवेशको सुरुवातसँगै भएका त्यस्ता विद्रोहहरू खासै उपनिवेशकर्तालाई धक्का दिन सफल भएनन् । तर, बिसौँ शताब्दीको सुरुवातसँगै उपनिवेश विरोधमा हुने विद्रोह र आन्दोलनले नयाँ मोड लियो । यस्तो एउटा विद्रोहको नेतृत्व फान बोइ चाउले गरे । चाउ बौद्धिक व्यक्तित्व थिए र उनले फ्रान्सको शासनलाई विरोध गरे पनि उनीहरूले ल्याएको पश्चिमा विज्ञान र प्रविधिको भने समर्थन गर्थे । बिसौँ शताब्दीको सुरुको दशकसम्ममा यता सुदूरपूर्वी एसियामा जापानले एउटा लडाइँमा रुसी जार शासकलाई हराइसकेकोले जापान नयाँ शक्तिको रूपमा उदय भइसकेको थियो । चाउले फ्रान्स विरोधको आफ्नो आन्दोलनलाई अझ परिष्कृत गर्न जापानको समर्थन खोजे । आफ्ना धेरै कार्यकर्ताहरूलाई जापानमा लगेर प्रशिक्षित गरे ।
चाउको विचार र आन्दोलनबाट प्रभावित भएर उत्तरी भियतनामका जनताले सन् १९०७ मा ‘तोकिनको स्वतन्त्र स्कूल’ नामले एक संस्था स्थापना गरे । त्यतिबेला फ्रान्सेली सरकारले उत्तरी भियतनामलाई तोकिन, मध्य भागलाई अनाम र दक्षिण भागलाई कोचिचीन नामकरण गरेको थियो । यही स्कूलपछि फ्रान्सको उपनिवेशको विरोधमा क्रियाकलाप गर्ने केन्द्रमा परिणत भयो । यही स्वतन्त्र स्कूलको आयोजनामा सन् १९०८ सम्ममा उत्तरी भियतनामका विभिन्न सहरहरूमा कर घटाउन माग गर्दै फ्रान्स सरकारविरोधी प्रदर्शनहरू गरिए । तर, यस्ता प्रदर्शनमा भाग लिएका सहभागीहरूलाई निर्ममतापूर्वक दबाइयो, केहीलाई ज्यान सजाए दिइयो भने केहीलाई दक्षिण चीन सागरमा अवस्थित कन सन टापुमा निर्वासनमा पठाइयो । चाउ चीनको मन्चु सरकारविरोधी गणतन्त्रको आन्दोलनमा सहभागी हुन गए । उनको उद्देश्य भियतनामको फ्रान्सविरोधी आन्दोलनमा च्याङ काईशेक पार्र्टीको पनि सहयोग पाउने अपेक्षा थियो । तर, चाउ सघाईमा पक्राउ पर्छ, मुद्दा चलाउन उनलाई भियतनाम फर्काइन्छ र नजरबन्दमै उनको निधन सन् १९४० मा हुन्छ ।
हुन त, पहिलो विश्वयुद्धपछि फ्रान्सेली सरकारसँग वार्ता र सहमतिको वातावरण सृजना गरी भियतनामी जनताको लागि थप स्वतन्त्रता र अधिकारका कुराहरू प्राप्त गर्न विभिन्न भियतनामी देशभक्त पार्टीहरूले प्रयासहरू गरेका थिए । तर, ती प्रयासहरू सफल नभएपछि विशेष गरेर ‘भियतनाम कोक डन डाङ’ (Vietnam Quoc Dan dang = VNQDD) जस्ता पार्टीहरूले फेरि हिंसात्मक आन्दोलनहरूको थालनी गरे । तर, एक फ्रान्सेली सैनिक अफिसरको हत्या भएको निहुँमा डन डाङका कार्यकर्ताहरूको व्यापक धरपकड भयो तथा निर्वासनमा पठाइयो र आखिर यसको देशभक्तिपूर्ण आन्दोलन निस्तेज हुँदै विलिन भयो ।