भियतनाम स्वतन्त्र घोषणा

भियतनाम यात्रा – ३
भियतनामी कम्युनिस्ट पार्टीको स्थापनादेखि एकीकरणसम्म (सन् १९३० देखि १९७५ सम्म)
योगेन्द्रमान बिजुक्छेँ
भियतनाम स्वतन्त्र घोषणा
धेरै वर्षसम्म भएका भियतनामका देशभक्तिपूर्ण आन्दोलनलाई दबाइए पनि भियतनामलाई फ्रान्सको उपनिवेशबाट मुक्त गर्ने अभियान भने रोकिएन । सन् १९३० यस अर्थमा अति महत्वपूर्ण वर्ष रह्यो । होनहार एक देशभक्त भियतनामी युवाले प्रवासमै आफ्नो नेतृत्वमा ‘हिन्दचीन कम्युनिस्ट पार्टी’ को स्थापना गरे । सन् १९३० मा कम्युनिस्ट पार्टीको रूप लिनुअघि यो सङ्गठन ‘भियतनामी क्रान्तिकारी युवा लिग’ को रूपमा सन् १९२५ मा गठन भएको थियो । आफ्नो वास्तविक नाम निगुयन ऐ ककलाई लुकाई छद्म हो ची मिन्हको नामले देशको मुक्तिको लागि सन् १९११ देखि फ्रान्सदेखि युरोपका अन्य देशहरू अमेरिका, रुस, चीन हुँदै अनेक वार्ता, तालिम, सङ्गठनात्मक क्रियाकलापका लागि निरन्तर प्रवासमा बसेर कार्य गरे । कम्युनिस्ट पार्टी स्थापना भएकै वर्ष भियतनाममा ठुलो भोकमरी भयो । विश्वको आर्थिक मन्दी, सुख्खा मौसम तथा फ्रान्सेली सरकारको गलत नीतिको कारण भएको सो भोकमरीले लाखौँलाख भियतनामी जनताको मृत्यु भयो । यही अवस्थालाई नयाँ मुद्दाको रूपमा अगाडि सारी भियतनामी कम्युनिस्ट पार्टीले फ्रान्सको उपनिवेशको विरोधमा ठुलो जनलहर सृजना गर्न सफल भयो र भियतनामी जनतामा फ्रान्सविरोधी भावनाले अझ तीव्रता लियो ।
अटालिएको फ्रान्स सरकारले कम्युनिस्ट पार्टीलाई पनि दबाउन अनेक जालझेल ग¥यो । तर, पहिलेका अव्यवस्थित र असङ्गठित देशभक्ति समूहहरूलाई जस्तै दबाउन सकिएन । तालिम प्राप्त र सङ्गठित कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले चलाखीपूर्वक यसको सामना गर्दै आफूलाई सुरक्षित राख्न सफल भए । सन् १९३६ सम्ममा उपनिवेशवादी सरकारले छुट दिएको राजनैतिक अधिकारलाई पनि तुरुन्तै उपयोग गरी कानुनी मोर्चाको निर्माण गरी बुद्धिजीवी, किसान र मजदुरहरू तथा समाजका अन्य वर्गका जनतासम्म आफ्नो सङ्गठन विस्तार गर्न सक्षम भए । जब देश दोस्रो विश्वयुद्धको सङ्घारमा पुग्यो, फ्रान्सेली सरकारले भियतनाममा कडाइ गर्दै अधिकारहरू कटौती गर्न थालेपश्चात् परिपक्व भइसकेको पार्टी कार्यकर्ता र नेताहरू परिस्थितिबाट अवगत भई भूमिगत भए र पार्टीलाई जीवित नै तुल्याउन सफल भए ।

भियतनाम युद्धमा मानव बस्तीमा बम खसाल्दा अतालिएर भागेका भियतनामी बालबालिकाहरू ।

दोस्रो विश्वयुद्धमा भियतनामको अवस्था
उता युरोपको भूमिमा हिटलरको नाजी सेनाले सेप्टेम्बर १, १९३९ मा पोल्यान्डमा धावा बोलिसकेपछि दोस्रो विश्वयुद्धको श्रीगणेश भयो । शक्तिराष्ट्रहरू दुई मोर्चामा विभाजित भए । जर्मनीले नेतृत्व गरेको मोर्चामा इटली र जापान थियो भने मित्रराष्ट्रहरूको मोर्चामा बेलायत, फ्रान्स र रुस थियो । पूर्वी र दक्षिण पूर्वी एसियामा जापानले आफ्नो प्रभुत्व फैलाउँदै लग्यो । युद्ध सुरु भएको ९ महिना अथवा सन् १९४०, १४ जूनमा फ्रान्सको राजधानी पेरिसलाई जर्मन सेनाले कब्जा गरिसकेपछि त्यसको असर पूर्वमा पनि प¥यो । भियतनाममा अवस्थित फ्रान्सेली उपनिवेशलाई त्यहाँको गभर्नरले जापानका सेनाहरूलाई सुम्पनुपर्ने सम्झौतामा हस्ताक्षर गरायो । यसरी २२ सेप्टेम्बर १९४० मा ३०,००० जापानी सेनाले भियतनामलाई आफ्नो अधीनमा राख्यो र सबै मुख्य मुख्य बन्दरगाह र हवाइ अडाहरूलाई रणनैतिकरूपमा प्रयोग गरेर दक्षिणपूर्व एसियामा भियतनामलाई आफ्नो सैनिक परिचालनको मुख्य केन्द्र बनायो ।
यता बदलिँदो परिस्थितिको आकलन गर्दै हो ची मिन्हको नेतृत्वमा सबै देशभक्तहरूको समूहलाई समेट्दै देशको मुक्तिको लागि एक बृहत् राष्ट्रिय मोर्चाको गठन भयो । सो मोर्चा नै पछि ‘भियत मिन्ह’ Viet Minh को नामले चिनियो र भियतनाम र भियतनामी जनताको प्रतिनिधित्व गर्ने आधिकारिक पार्टी वा संस्था नै भियत मिन्ह हो भनी विश्व शक्तिबाट मान्यता प्राप्त गराउन हो ची मिन्हको नेतृत्व सफल भयो ।
दोस्रो विश्ययुद्धमा अगस्त १९४५ मा जापानको आत्मसर्मपणसंगै युद्धको अन्त भयो । जापानको अधिनस्थ रहेका पूर्व तथा दक्षिणपूर्वी उपनिवेशहरूले एकपछि अर्को स्वतन्त्रता घोषणा गर्दै गए । भियतनामका स्वतन्त्रता सेनानी हो ची मिन्हको नेतृत्वको भियत मिन्हले उत्तरी भियतनाममा आफ्नो शक्ति प्रदर्शन गर्दै फ्रान्सेली सरकारले सम्राट घोषणा गरेका ‘बाओ डाई’ लाई सत्ताबाट अपदस्थ गर्दै गणतन्त्र भियतनामप्रति आफ्नो पूर्ण समर्थन रहेको बाचा गराउँदै देशका राष्ट्रपतिको हैसियतले हो ची मिन्हले सन् १९४५ सेप्टेम्बर २ का दिन हनोइ सहर अवस्थित ‘बा डिन्ह चोक’ मा भियतनाम स्वतन्त्र भएको घोषणा गरे ।

भियतनाम युद्धमा अमेरिकी बमवर्षक विमानहरूले उत्तरी भियतनाममा व्यापक बम वर्षा गर्दै

फेरि साम्राज्यवादीहरूको गिद्दे नजर
तर, दक्षिण भियतनाममा बेलायती साम्राज्यवादीको सहयोगसमेतबाट फ्रान्सले सन् १९४६ मा आक्रमण गरेर फेरि आफ्नै अधीनमा राख्न खोज्यो । तर, भियतनामी कम्युनिस्ट पार्टीको संयोजनमा फ्रान्सेली उपनिवेशवादी सेनाविरुद्ध गुरिला युद्ध सुरु गरे । यता चीनमा सन् १९४९ मा समाजवादी चिनियाँ क्रान्तिको सफलताले भियतनामको गुरिल्ला युद्धमा समेत सहयोग पुग्दा फ्रान्सले धेरै क्षति व्यर्होनु प¥यो । फ्रान्ससँगको भियतनामी जनताको यस युद्धलाई इतिहासमा पहिलो हिन्दचीन युद्ध पनि भनिन्छ । फ्रान्स आखिरमा जेनेभा सम्झौतामार्फत सन् १९५४ मा भियतनामको स्वतन्त्रतालाई स्वीकार गर्न बाध्य भयो ।
विशेषगरी दोस्रो विश्वयुद्धको उत्तराद्र्धमा मित्र राष्ट्रको पक्षमा आफ्नो समर्थन देखाएर महत्वपूर्ण भूमिका देखाएका अमेरिकाको चिन्ता भने अर्कै थियो । दोस्रो विश्वयुद्ध टुङ्गो लाग्दा नलाग्दै उसलाई पूर्वी तथा दक्षिण पूर्वी एसियामा कम्युनिस्ट विचार र सरकारको विस्तार रोक्ने उसको मुख्य उद्देश्य रह्यो । सिङ्गो भियतनाममा कम्युनिस्ट सरकारको अधिकार नरहोस् भन्ने हेतुले फ्रान्सलाई भित्रभित्रै अमेरिकाले सहयोग गर्दै गयो । परिणामस्वरुप दक्षिण भियतनाममा निर्वाचन गराएर मात्र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रपञ्च रचेर १७० अक्षांस रेखालाई आधार मानेर उत्तर र दक्षिण भियतनामको विभाजन गरेर अमेरिकाले दक्षिण भियनाममा आफ्नो कठपुतली सरकारको स्थापना ग¥यो । निर्वाचन सम्पन्न गर्दा भियत मिन्हको (कम्युनिस्ट पार्टीको) जीत सुनिश्चित भएकोले निर्वाचन नै नगराउने जालझेल अमेरिकी कठपुतली सरकारले रच्दै गयो । यसरी सय वर्ष भियतनामलगायत हिन्दचीनमा उपनिवेश चलाएको फ्रान्सले त्यो स्थान त्याग्न नपाउँदै अमेरिकाले त्यो स्थान लिन खोज्यो । भियतनामी जनताको लागि न अमेरिकाको कठपुतली सरकार न दुईवटा भियतनाम नै स्वीकार्य थियो । भियतनामको एकीकरणको लागि सबै देशभक्त पार्टीहरूको संयुक्त मोर्चा ‘भियत कङ’ निर्माण गरी दक्षिण भियतनामको अमेरिकी कठपुतली सरकारविरुद्ध अर्को गुरिल्ला युद्ध सन् १९५४ देखि सुरु भयो ।

एक महिला भियतमिन्ह लडाकु

संसार हल्लाउने भियतनाम युद्ध
सय वर्ष फ्रान्सको विरोधमा लडेका जनताले फेरि अमेरिकासँग युद्ध गर्नुपर्ने भयो । दक्षिण भियतनाममा विभिन्न अमेरिकी कठपुतली सरकारहरूको गठन भए, कोही अपदस्थ गरिए तर भियत कङको प्रतिकारलाई सामना गर्न अमेरिकालाई सा¥हो हुँदै गयो । जतिसुकै सैनिक बन्दोबस्तीका सामान, वित्तीय र सैनिक सहयोग भए पनि भियत कङको शक्ति प्रभावशाली हुँदै गयो । दक्षिण भियतनाममा उसलाई दबाउन नसकेपछि उत्तर भियतनाममा संरा अमेरिकाले बमबारी गर्न थाल्यो । संसारमा एकछत्र शासन गर्न लालायित अमेरिकाले भियतनामी जनताको ठुलो प्रतिरोधको सामना गर्नुप¥यो । भनिन्छ, दोस्रो विश्वयुद्धमा अमेरिकाले अन्य मुलुकहरूमा जति बम खसाले त्यसको तीन गुणा बम भियतनाममा खसाल्यो । आकारमा नेपालभन्दा साढे दुई गुणा ठुलो देशमा कति बम खसे होला ¤ भियत कङ सेनाले भएभरका परम्परागत युद्धका रणनीति अपनाउँदै सर्प, बिच्छि, माहुरी, बाँसका भाताको हतियार र परम्परागत धराप थाप्दै अमेरिकी सेनालाई हायलकायल पारे । भियतनामको जङ्गलै सखाप पारेर गुरिला युद्धलाई समाप्त पार्ने उद्देश्यले ‘अरेन्ज एजेन्ट’ नामक रसायनसमेत छर्केर युद्ध गरियो । आगोको मुस्लो ओकल्ने नाफाम बमको प्रयोग भयो । भियतनामी महिला र बाल बालिकाको क्रूर र निर्मतापूर्वक हत्या भयो । तर, केही सिप लागेन र अन्ततः सन् १९७३ मा अमेरिकाले हार स्वीकार्यो । पेरिस सम्झौता गर्दै अमेरिकाले भियतनामको भूमिबाट आफ्नो सैनिक फिर्ता लग्यो । सन् १९७५ अप्रिलमा दक्षिणको अमेरिकी कठपुतली सरकारलाई अपदस्थ गरी समाजवादी गणतन्त्र भियतनामको एकीकरणको घोषणा भयो । कोरियालाई जस्तो दुई टुक्रा गर्ने अमेरिकी साम्राज्यवादको सपना वीर भियतनामी जनताले तुहाइदिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर