पुँजीवादी व्यवस्थाबाट समाजवाद असम्भव

पुँजीवादी व्यवस्थामा भागबन्डा या पद र पैसाको निम्ति राजनीति चल्ने हुँदा सरकारको हेरफेर भइरहनु अस्वाभाविक होइन । मन्त्री बाँडफाँडका निम्ति दौडिरहेका नयाँ गठबन्धनका दलका नेताहरूबिच अर्को चुनावसम्म वाम गठबन्धन बनाउन सहमति भएको समाचार प्रकाशमा आएको छ । फागुन २३ गतेको ‘नागरिक’ दैनिकमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच वाम गठबन्धन बनाउने सहमति भएको समाचार प्रकाशित भयो । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र अलग्ग अलग्ग पार्टी हुँदा एकले अर्कोलाई कुनै हालतमा कम्युनिस्ट पार्टी होइनन् भनी हिलो छ्यापेका थिए । आज तिनै दलबिच नयाँ सरकारको गठबन्धन सुरू भएको छ र वाम गठबन्धनमा सहमति हुने जानकारी प्रकाशमा आयो ।
छिनछिनमा भइरहेको सरकारको हेरफेरले शासक दलका नेताहरूमा नैतिकता र अडानको कुनै मानवीय मूल्य नभएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् । नेताहरूमा नैतिकता, इज्जत नभएपछि तिनीहरूमा इमानदारी र प्रतिष्ठा पनि नभएको विश्लेषण पनि हुन थालेको छ । पटक पटक सरकारको नेतृत्व गरेका ती कम्युनिस्ट भनिने नेताहरूले संविधानमा व्यवस्था भएबमोजिमको समाजवादउन्मुख अवधारणालाई पनि प्रयोगमा ल्याउन सकेका छैनन् । पुँजीवादी व्यवस्थामा रहेर ती दलका नेताहरूले के वाम गठबन्धनको प्रसङ्ग जोडेर नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई अर्कै मोडतिर लाने प्रयास त गरिरहेका छैनन् ?
समाजवादउन्मुख राज्य व्यवस्थामा आधारित मूल्य र मान्यताअनुसार अघि बढाउन ती दलका नेताहरूले कहिल्यै छलफल गरेनन् । बहुदलीय जनवादको निम्ति मरिमेट्ने दलका नेताहरूले देशमा कसरी समाजवादी व्यवस्था ल्याउँछन् र ल्याउने प्रयत्न गर्छन् ? बहुदलीय लोकतान्त्रिक शासन प्रणाली समाजवाद होइन न त मानव अधिकार र प्रेस स्वतन्त्रता नै समाजवाद हो । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता, सुरक्षा भत्ता, बीमाको व्यवस्था नै समाजवादको सङ्केत हो ?
सरकारको नेतृत्व कामदारवर्गको प्रतिनिधित्व गर्ने सच्चा कम्युनिस्ट पार्टीले गर्नुपर्छ । अल्पमतले बहुमतलाई होइन बहुमत जनताले अल्पमत जनताको नेतृत्व गर्ने कामदारवर्गको प्रतिनिधित्व गर्ने सरकार हुनुपर्छ । त्यस्तो सरकारको गठन पुँजीवादी निर्वाचनबाट सम्भव छैन । समाजवादी व्यवस्था स्थापना गर्न वर्गसङ्घर्ष गर्नु आवश्यक हुन्छ । चुनावबाट कम्युनिस्ट भनिने दलको नेतृत्वमा सरकार गठन भए पनि कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कुनै काम भएन । न त चाहेर नै पुँजीपतिवर्गको सरकारले गर्न दिन्छ । अतः कम्युनिस्ट पार्टी कुनै दलको नेताले मुखले होइन व्यवहारले देखाउनुपर्छ, कम्युनिस्टको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नुपर्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर