कर्मचारीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी राख्नु जरूरी छ

१६ फागुन, काठमाण्डौ
“कर्मचारीले नागरिक र कर्मचारी दुवैको कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले ख्वप मा.वि., ख्वप कलेज र ख्वप कलेज अफ लमा कार्यरत कर्मचारीहरूको आयोजनामा मङ्गलबार भएको कर्मचारी भेला तथा प्रशिक्षण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “कर्मचारीको पक्षबाट आफूलाई प्राप्त जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ भने नागरिकको तहबाट देशको विषय शत्रुलाई नबताउने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने कर्तव्य हुन्छ ।”
कर्मचारीले आफ्नो जिम्मेवारीसँग सम्बन्धित कानुनबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “कर्मचारी मद्यपान, धूमपानलगायत मादक पदार्थबाट टाढा बस्नु जरूरी छ ।”
“कर्मचारी भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततामा लागे सम्बन्धित संस्थाको प्रतिष्ठामा चोट पुग्छ । कर्मचारीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी राख्नु जरूरी छ”, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले कर्मचारीहरूले अध्ययनमा जोड दिई देश र जनताको सेवामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त रहेको स्पष्ट पार्दै उहाँले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नीतिअनुसार नै नेमकिपाका कार्यकताहरू लागिपरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको जहाँ जहाँ सङ्गठन छ, त्यहाँ त्यहाँ पार्टीका कार्यकर्ताहरूले इमानदारीपूर्वक जनताको सेवा गरिरहेका छन् । कुनै बेला फोहर नगरको रूपमा घृणित भक्तपुर आज देशकै नमुना र सफा नगरको रूपमा परिचित छ । यस्तो स्थिति आउनुमा नेमकिपाको योगदान महत्वपूर्ण छ ।”
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले हुलबाट निर्देशित हुने नभई सही विचार र दृष्टिकोणबाट निर्देशित हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।
कर्मचारीहरू असल, इमानदार कर्तव्यनिष्ठ हुनुका साथै देशभक्त हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा सार्वजनिक संस्थानहरूलाई तहसनहस गर्ने दुष्प्रयास पुँजीपतिवर्गबाट हुने गर्छ; यसतर्फ ख्वप सर्कलमा कार्यरत कर्मचारीहरू सजग हुनुपर्छ ।”
नेपाल कर्मचारी समाज ट्रेड युनियनवादी सङ्गठन नभएको स्पष्ट पार्दै अध्यक्ष लासिवाले कर्मचारीको व्यक्तित्व विकास र पेसागत हकहितमा ध्यान दिनुका साथै कर्मचारीलाई देशभक्त बनाउन कर्मचारी समाज अग्रसर रहेको बताउनुभयो ।
“कमीकमजोरीप्रति आलोचना र आत्मालोचना गर्ने बानी विकास गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले संस्थाले लिएको जिम्मेवारी पूरा गर्न त्यहाँ कार्यरत सबैको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
“ख्वप सर्कलका शैक्षिक संस्थाहरू कामदार जनताका छोराछोरीहरूलाई गुणस्तरीय उच्च शिक्षा दिने उद्देश्यका साथ स्थापना भएको हुँदा त्यस लक्ष्यलाई सफलतामा पु¥याउन कार्यरत शिक्षक तथा कर्मचारीहरूले इमानदारीपूर्वक काम गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
ख्वप सर्कलका शैक्षिक संस्थानहरू खुला किताबजस्तै पारदर्शी रहेको हुँदा ख्वपमा कार्यरत सबैले आफ्नो संस्थाप्रति गर्व गर्न लायक हुने गरी काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य, नेपाल कर्मचारी समाजका केन्द्रीय सदस्य दिलकृष्ण माक, ख्वप कलेजका लेखा अधिकृत कृष्णराम पही, ख्वप कलेजका जिन्सी अधिकृत तुल्सीराम सुवाल, पुस्तकालय सहायक कृष्णश्वरी सुवाल र परीक्षा सहायक कृष्णप्रसाद तुइतुईले पनि बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर