दलभित्रै सुशासन भएन भने देशमा कसरी होला ?

१७ फागुन,काठमाडौँ
देश र जनताप्रति समर्पित नभएर जसरी भए पनि दल ठुलो बनाउन जो कोही पार्टीमा भित्याउँदा र पार्टीभित्र पदको निम्ति राजनीति गर्ने गर्दा दलभित्र सुशासन देखिएन । सिद्धान्त र विचारको राजनीति छोडेर पद र पैसामुखी राजनीतिमा बिकेपछि दलले देशमा कसरी सुशासन देला ? दलभित्र सिद्धान्तलाई व्यवहारमा लागु गर्नुभन्दा दलमा आ–आफ्ना पक्षधर नेताहरू राख्ने या घुसाउने चालबाजी भएपछि वैचारिक द्वन्द्व बढ्नु स्वाभाविक हो । महन्थ ठाकुर नेतृत्वमा रहेको पार्टीमा नेताहरूबिचको विवाद उत्कर्षमा पुग्नु अनौठो होइन । दलभित्रै सुशासन भएन भने मुलुकमा सुशासन कायम होला भन्ने विश्वास कसरी गर्ने ?
दलभित्र सिद्धान्त र विचारको ख्याल नगरी जो कसैलाई भित्याउने, कुनै पनि सदस्यलाई पदमा सिफारिस गर्दा पार्टीको मर्म र उद्देश्यको ख्याल नगर्ने, व्यक्ति योग्य छ छैन केही नहेर्ने दलका नेताहरूको प्रवृत्तिले गर्दा दलका नेताहरूबिच विवाद बढेको देखिन्छ । यही कारण दलभित्र नेताहरू तुरुन्तै मिल्ने र मिलेर राम्रो काम गर्न नपाउँदै छोड्ने या पार्टी फुटाउने काम बरोबर भइरहेको हो । सत्तासीन र ठुला दलका नेता, मन्त्री र सांसदहरू किन भ्रष्टाचार काण्डमा परे या फसे ? सुशासन र विधिको नारा दिने शासकहरू सिंहदरबारलाई भ्रष्टाचार गर्ने थलो बनाउँदै छन्; सिंहदरबार दुर्गन्धित बन्दै छ । गाउँ गाउँमा सिंहदरबार भनेर शासकहरूले गाउँ गाउँमा भ्रष्टाचारको जालो फैलाउँदै छन् । यो देशको दुर्भाग्य हो ।
शासक र ठुला दलका नेताहरू सरकार कसरी फाल्ने र आफू कसरी जाने भन्ने राजनीतिमा लागेका छन् । उखु कृषकहरूको आन्दोलन, मिटरब्याज पीडित र लघुवित्त पीडितहरूको आन्दोलनले देशमा जमिनदार, पुँजीपति, जालीफटाहा, कमिसनखोर, कालाबजारियाहरूको हैकम चलिरहेको थाहा हुन्छ । सरकार र दलको नेतृत्व गर्ने नेता र शासकहरू नै इमानदार छैनन्, जिम्मेवारीबोध गर्दैनन्; असल आचरणका छैनन् भने त्यस दल र दलमा आबद्ध अन्य नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरूको हालत के होला ? पुरानो पुस्ताले नयाँ पुस्तालाई जिम्मेवारीबोध बनाउन मार्ग निर्देश गर्नुपर्ने हो† भावी पुस्तालाई लगनशील, इमानदार, देशभक्त बनाएर देश बनाउनेतर्फ उन्मुख गर्नुपर्ने हो; तर त्यो भइरहेको छैन । ती शासकहरू आफ्नो नैतिकता बेचेर दामको पछि दगुरिरहेका छन् । शासकहरूमा नैतिकताको खडेरी पर्नु राम्रो लक्षण होइन ।
शासकहरूले देशमा विधिको शासनको कुरा फुके पनि त्यही विधिको शासनको उल्लङ्घन भइरहेको छ । ‘राजनीतिक शक्तिका आडमा बनेका विमानस्थलको हवाई दुरी मापदण्डभन्दा कम’, ‘प्रभु बैङ्कका डेपुटी सिइओसहित १० जना पक्राउ’, ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’, ‘न्याय यातनामा नाङ्गा पाइला’, ‘धितो एक अर्ब ऋण दुई अर्ब’, ‘फेरियो भ्रष्टाचारको तौरतरिका’, ‘ठुलो भ्रष्टाचारको अनुसन्धानमा कति प्रगति ?’ जस्ता विभिन्न पत्रिका छापिएको खबरले देश कतातिर गइरहेको छ भन्ने थाहा हुन्छ । के यी शीर्षकका समाचारले देशमा सुशासन छ भन्ने अनुभूति हुन्छ ? के यसले देशका शासक र उच्चपदस्थ व्यक्तिहरू इमानदार छन् भन्ने सन्देश जान्छ ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

सम्बन्धित खबर